सिलगढी- एउटा जिउँदो जुका लगभग १५ दिनसम्म श्वासनलीमा अड्किएको थियो। उत्तर बङ्गाल मेडिकल कलेज र अस्पतालको ईएनटी विभागका डाक्टरहरूले जुका हटाउन दुर्लभ शल्यक्रिया गरेर बिरामीको ज्यान बचाए। बिहीबार दिउँसो लगभग ३ बजे उत्तर बङ्गाल मेडिकल कलेज एण्ड हस्पिटलमा इएनटी विभागका डा राधेश्याम महतोले पत्रकारलाई जानकारी दिए। मिरिक निवासी ४९ वर्षीय सजिन राईलाई हिजो मेडिकल कलेजमा भर्ना गरिएको उनले बताए। त्यसपछि जाँच गर्दा तिनको श्वास नलीमा जुका अड्किएको पत्ता लाग्यो। १५ दिनअघि बिरामीले झरनाको पानी पिए। त्यो बेला जुका तिनको श्वास नलीमा पसेको हुनसक्ने चिकित्सकको अनुमान छ। जुका त्यहाँ १५ दिनसम्म बस्यो। यो देखेर डाक्टरहरू पनि अचम्ममा परेका छन्। त्यसपछि डा राधेश्वम महतोको नेतृत्वमा तिनको टोलीले शल्यक्रिया गरी बिरामीलाई निको पारेको थियो। यस्तो शल्यक्रिया यसअघि कहिल्यै नभएको चिकित्सकले बताए। हाल बिरामी पूर्ण रूपमा स्वस्थ छन्।









