कालचिनी : कालचिनी क्षेत्रको पाशाखा रोडमा सडक दुर्घटनामा २ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य 3 जना घाइते भएका छन्। मृतकहरूमा भुटान निवासी दीपेन तामाङ र आनन्द शिवा रहेका छन्। प्राप्त जानकारीअनुसार गत राति पाशाखा रोडको सडक किनारमा एउटा लरी रोकेर राखेको थियो। जयगाउँगामी एउटा सानो वाहनले लरीको पछिल्तिर धक्का दिँदा वाहनमा सवार ५ जना गम्भीर रूपमा घाइते भएको बताइएको छ। घाइतेहरूलाई तत्कालै उद्धार गरेर अस्पतालमा लगे तापनि अस्पतालमै २ जनाको मृत्यु भएको छ भने अन्य ३ जनाको उपचार चलिरहेको छ। पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।









