बंग्लादेश विरुद्ध जारी टेस्ट सीरीजको पहिलो म्याचमा ८ विकेट लिएर प्लेयर अव् द म्याच रहने कुलदीप यादवलाई आजदेखि शुरु दोस्रो टेस्ट म्याचबाट बाहिर गरियो। आफू जति नै दयनीय फर्ममा भए पनि टीममा टाँसिएर बस्ने कार्यवाहक कप्तान केएल राहुलले यसपाली कुलदीपलाई टीमबाट बाहिर गरेपछि क्रिकेटका विशेषज्ञहरूले पनि प्रश्न उठाएका छन्। दुई सालपछि टीममा मौका पाएर म्याच जिताउने प्रदर्शन गर्ने चाइनाम्यान बलर कुलदीपको स्थानमा टीम म्यानेजमेण्टले मीडियम पेस बलर जयदेव उनादकटलाई स्थान दियो। यसरी घरेलु क्रिकेटमा असल प्रदर्शन गर्दै आइरहेका उनादकटले १२ सालपछि भारतीय टोलीमा पुनरागमन गर्ने मौका पाए।
दोस्रो टेस्ट म्याचको निम्ति भारतीय टीममा दुईजना स्पिनर रहेका छन् अनि दुवैको बलिंग स्टाइल अलग रहेको छ। अश्विन दाहिने हातका अफ् स्पिनर हुन्। यसरी नै अक्षर देब्रे हातका फिंगर स्पिनर। दोस्रो टेस्ट म्याचको निम्ति उमेश यादव, मोहम्मद सिराज र उनादकटको रूपमा तीनजना पेस बलर खेलाउने भारतको फसेलाले धेरैलाई अचम्भित पारेको छ। म्याचको तेस्रो दिन पीचमा टर्न आउन थालेपछि भारतलाई तेस्रो स्पिनरको कमी अवश्यै अनुभव हुनेछ। कुलदीप यादवलाई टीमबाट बाहिर गर्ने फसेलालाई सही ठहऱ्याउने एकमात्र कारण उनादकटको घरेलु क्रिकेटमा प्रदर्शन हो। उनादकटले घरेलु क्रिकेटमा प्रशस्तै विकेट हासिल गरेका छन्
भारतीय टीममा शुरुदेखि नै सुभाष गुप्ते, भागवत चन्द्रशेखर र अनिल कुम्बले जस्ता महान रिस्ट स्पिनर रहेका छन्। जसले एक्लैको दममा भारतलाई धेरैवटा म्याचमा जीत दिलाएका थिए तर गत केही सालदेखि टीम म्यानेजमेण्टले यस हतियारलाई प्रयोग गर्न नै भुलेको छ। कुलदीपलाई आज जसरी म्याच जिताउने प्रदर्शनपछि पनि टीमबाट बाहिर गरियो, त्यसरी नै २०१०-मा पनि लेग स्पिनर अमित मिश्रा बलिको बोका बनेका थिए। त्यस समय मिश्राले बंग्लादेश विरुद्ध चट्टग्राममै ७ विकेट लिएर अर्द्धशतक बनाए पनि उनलाई दोस्रो टेस्ट म्याचमा ड्रप गरिएको थियो।
कुलदीपले फरवरी २०१७-मा भारतको निम्ति धर्मशालामा अष्ट्रेलिया विरुद्ध टेस्ट पदार्पण गरेका थिए। भारतको निम्ति टेस्ट खेल्ने उनी पहिलो देब्रे हातका रिस्ट स्पिनर थिए। साल २०१७-मा दुईवटा टेस्ट म्याच खेलेपछि उनले २०१८-मा तीन, २०१९-मा एक, २०२१-मा एक र फेरि २०२२-मा एउटा टेस्ट म्याच खेल्ने मौका पाए। यसपाली उनलाई फेरि टीमबाट बाहिर गरिएको छ।









