गान्तोक। राज्यको सत्तारूढ़ दल सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले रोलूमा आज १४औं रोलू दिवस भव्यतापूर्वक पालन गऱ्यो। पार्टीका अध्यक्ष एवं राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ लगायत सबै नेतृत्व, कार्यकर्ताहरूले कार्यक्रमअघि रोलू मन्दिरमा पूजा अर्चना गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै एसकेएम पार्टी अध्यक्ष एवं राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले रोलू मन्दिरमा पूजा गर्दै सधैं सिक्किमेली जनसमुदायको सेवा गर्न आफूलाई सौभाग्य जुरोस् भन्ने कामना गरेको बताए। उनले १४औं रोलू दिवसको अवसरमा सम्पूर्ण सिक्किमे जनतालाई शुभकामना दिए। आजको दिन सम्पूर्ण क्रान्तिकारी सिक्किमे जनताको निम्ति अति नै महत्वपूर्ण दिन रहेको बताए। उक्त दिनलाई सम्झना गर्दै मुख्यमन्त्री तामाङले सम्पूर्ण धर्मावलम्बीहरूको आस्थालाई साक्षी राखेर सिक्किमे जनताको उन्मुक्तिको निम्ति यहाँ आएका सबैको साहसको प्रशंसा गरे।
जानकारी गराइन्छ, २१ दिसम्बर २००९-मा वर्तमान मुख्यमन्त्री पीएस गोलेको अगुवाईमा बनभोजको नाममा सीमित भेलाद्वारा त्यसताकको एसडीएफ सरकारविरुद्ध शुरु गरिएको विद्रोहको शंखघोष यसै रोलूबाट भएको थियो। २०१३-मा एसकेएम पार्टी गठन भएपछि पार्टीको निम्ति आजको दिन महत्वपूर्ण रहेको छ।

१४औं रोलू दिवसमा आज मुख्यमन्त्री तामाङलाई सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका बाइक राइडरहरुले मल्लीदेखि एस्कट गरेर रोलु मन्दिरसम्म पुऱ्याए। पछि उनले कार्यक्रमस्थलमा गरीब जनकल्याण प्रकोष्ठद्वारा तयार गरिएको प्रदर्शनी स्थलको निरीक्षण गरे। प्रकोस्टद्वारा गरिएको कार्यहरुको उनले त्यहाँ विस्तृत जानकारी लिए।









