सिलगढी: गत राती कालेबुङ थाना पुलिसले प्रधान नगर थानाको सहयोगमा सिलगढीको चम्पासारी बजारमा अभियान चलाएर नशालु ट्याबलेट, प्रतिबन्धित कफ सिरपसहित एकजना युवकलाई पक्राउ गरेको छ। पुलिसले पक्राउ गरेको युवक विकास विश्वकर्माको रूपमा चिन्हित गरेको छ। कालेबुङ पुलिसले आरोपी विकास विश्वकर्मालाई पक्राउ गरेर कालेबुङ लगेको छ। जानकारी अनुसार गत १७ दिसम्बर कालेबुङ थाना पुलिसले दुईजना मादक तस्करलाई पक्राउ गरेको थियो। यसपछि रिमान्डमा लिएर तिनीहरूलाई सोधखोज गर्दा सिलगढीबाट मादक पदार्थ ल्याएर कालेबुङमा बेच्ने गरेको कुरा बताएका थिए। यसपछि प्रधान नगर थानाको सहयोगमा कालेबुङ थाना पुलिसले चम्पासारी बजारमा क्रेता बनेर गए अनि मादक पदार्थ सप्लायरलाई पक्राउ गरेको बताइएको छ। पुलिसले आरोपीबाट एक हजार नशालु ट्याबलेट, प्रतिबन्धित कफ सिरप अनि एउटा स्कुटी पनि जफत गरेको छ। यसपछि आरोपी विकास विश्वकर्मालाई एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर पक्राउ गरेपछि तिनलाई कालेबुङ लिएर गएको छ।










