सिलगढी: श्रीमान्–श्रीमतीबीचको झगडाका बीच श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका छन्। घटनामा महिलाको मृत्यु भएको छ। मृतकको नाम अनिता दास हो। घटनालगत्तै भक्तिनगर चौकी अन्तर्गतको आशिघरचौकी प्रहरीले मृतकका श्रीमानलाई पक्राउ गरेको छ। घटनालाई लिएर सहरमा सनसनी फैलिएको छ। प्रहरी स्रोतअनुसार दम्पती ग्राम २ ग्राम पञ्चायत क्षेत्र मजबारीका बासिन्दा हुन्। आरोपित श्रीमान् पेसाले दैनिक ज्यालादारी मजदुर हुन्। श्रीमान श्रीमती सदाझैँ बुधबार पनि काममा निस्किए पनि पूर्वी च्यानपाडा क्षेत्रमा पुगेपछि उनीहरूबिच कुनै कुरालाई लिएर झगडा भएको थियो। स्थानीय स्रोतअनुसार अचानक अजित दासले आफ्नी श्रीमतीमाथि इँटा प्रहार गरेका थिए।

घटनामा महिला गम्भीर घाइते भएकी छन्। तिनलाई त्यहाँ उपस्थित अन्यहरूले गम्भीर अवस्थामा तुरुन्तै सिलगढी जिल्ला अस्पताल पठाए। तर त्यतिन्जेल उनको मृत्यु भइसकेको थियो। चिकित्सकले तिनलाई मृत घोषणा गरेका थिए। यसैबीच घटनापछि मृतकका श्रीमानले इलाकाबाट भाग्न खोजेका थिए। अन्ततः तिनलाई प्रहरीले समात्यो। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।









