गान्तोक: सिक्किम प्रिमियर लीग २०२३ को तयारीलाई लिएर सिक्किम सरकारको खेलकुद एवं युवा मामिला मन्त्री कुङ्गा निमा लेप्चाको अध्यक्षतामा हितधारकहरूको एउटा समन्वय सभा यहाँको सम्मान भवनमा सम्पन्न भयो। बैठकमा सिक्किम युथ एसोसिएशन, सिक्किम फुटबल एसोसिएशन र सिक्किम फुटबल डेभलपमेन्ट प्राइवेट लिमिटेड जस्ता सङ्घ संस्थाको यस लीगमा के कस्तो भूमिका रहनेछ भन्ने बारेमा चर्चा गरियो। यसरी नै बैठकमा राज्य सरकार र खेलकुद विभागको भूमिकामाथि पनि चर्चा भयो। बैठकमा खेलकुद विभागका सचिव राजु बस्नेतको पनि विशेष उपस्थिति रहेको थियो।
सिक्किम प्रिमयर लीग २०२३ राज्यका पाँचजना पूर्व अन्तर्राष्ट्रिय तथा आइएसएल खेलाड़ीहरूको परिकल्पना हो। स्थानीय फुटबल प्रतिभाहरूलाई मञ्च प्रदान गर्न आइएसएल-को ढाँचामा सिक्किम प्रिमियर लीगको आयोजना गरिनेछ। सभामा पूर्व अन्तर्राष्ट्रिय फुटबलर निर्मल शर्माले सिक्किम प्रिमियर लीगको ढाँचा बारे विस्तृत रुपमा जानकारी गराए।
सभालाई सम्बोधन गर्दै मन्त्री कुङ्गा निमा लेप्चाले राज्यमा फुटबल खेलको विकासको निम्ति राज्य सरकार मुख्यमन्त्री पीएस गोले सिक्किम प्रिमयर लीगलाई आवश्यक सहयोग गर्न सदैव तत्पर रहरेको बताए। आजको सभालाई वस्तावमा मुख्यमन्त्रीले नै अध्यक्षता गर्ने निश्चित रहेको तर व्यस्तताको कारण मुख्यमन्त्री उपस्थित हुन नसकेको उनले थप बताए।
खेलकुद विभागका सचिव राजु बस्नेत र सिक्किम फुटबल एसोसिएशनका अध्यक्ष मेन्ला इथेन्पाले पनि सम्बोधन गरेको बैठकमा उपस्थित व्यक्तिहरूले आ-आफ्नो सुझाउहरू राखे।









