शहीद स्मारकमा गलत लेखिएको दरोगा मल्ललाई संसोधन गरेर मेजर दुर्गा मल्ल बनाइएको दाबी

IMG-20221220-WA0209.jpg

खरसाङ: गोर्खा स्वाधीनता सेनानी शहीद दुर्गा मल्लको शहीद स्मारकमा नाम भूल रहेकोले सुप्रिम कोर्टको वकील प्रेम छेत्रीको पहलमा कानुनी रूपमा संसोधन गरेर सही गरिएको जानकारी खरसाङमा पत्रकार सम्मेलन बोलाएर समाजसेवी तिलक शर्माले जानकारी गराएका छन्। तिलक शर्माले यस विषयमा जानकारी गराउँदै शहीद मेजर दुर्गा मल्लको नाम दलोगा मल्ल रहेकोले यसलाई संसोधन गर्न सुप्रिम कोर्टको वकील प्रेम छेत्रीले कानुनी रुपमा काम गरेको र अहिले दुर्गा मल्लको नाम सही रहेको बताएका छन्। दिल्लीको मौलाना कलेज परिसरमा शहीद मेजर दुर्गा मल्ललाई फाँसी दिइएको ठाउँमा रहेको समाधि स्थलमा नाम अहिले नाम सही रहेको पनि तिलक शर्माले जानकारी गराएका छन्। उनले बताए अनुसार दुर्गा मल्लको उक्त संसोधन गरिएपछि प्रेम छेत्री, उत्तमकुमार छेत्री र आफु पुगेको पनि बताएका छन्। गोर्खा शहीद मेजर दुर्गा मल्लको नाम दलोगा मल्ल लेखिएकोले यसलाई संसोधन गराउन दार्जिलिङको सांसद राजु विष्ट अनि तृणमूल कंग्रेसको राज्य सभा सांसद शान्ता छेत्री दुवैले संसदमा कुरा उठाएर पनि संसोधनको कार्य नभएको बताउँदै दिल्लीको त्यसताकको मुख्यमन्त्री शिला दीक्षितलाई पनि भनेर पनि काम नभएको तर सुप्रिम कोर्टको वरिष्ठ वकील प्रेम छेत्रीले कानुनी रुपमा पहल गरेर नाम संसोधन भएर अहिले मेजर शहीद दुर्गा मल्ल रहेको बताएका छन्। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै समाजसेवी तिलक शर्माले अघि भने, महात्मा गाँधीजीसित नमक सत्याग्रहमा भाग लिने दुईजना गोर्खाहरू क्रमैले खड़कबहादुर विष्ट र महावीर गिरी हुन्। तर महात्मा गाँधीलाई गोली हानेर हत्या गरिएको ठाउँमा भएको शहीद वेदीमा दुईजनाको नाम गलत प्रकारले लेखिएको छ। शहीद वेदीमा खड़कबहादुर विष्ट हुनु पर्नेमा खड़कबहादुर गिरी लेखिएको छ अनि महावीर गिरीलाई नेपालको भनी लेखिएको छ तर उनी कालेबुङका हुन् र उनी दलबहादुर गिरीको सुपुत्र हुन्। यसको लागि हामी तीनजना क्रमैले सुप्रिम कोर्टको वकील प्रेम छेत्री, उत्तमकुमार छेत्री र म आफै गएर निरीक्षण गरेका थियौं र यसमाथि पनि वकील प्रेम छेत्रीले काम गर्ने भएको छ।’
समाजसेवी तिलक शर्माले यसरी हामी गोर्खाहरूले भारतको स्वाधीनता संग्राममा दिएको योगदानको मूल्यांकन हुन र गोर्खाहरूको चिन्हारी र अस्तित्व यसरी मेटिनु हुँदैन भनी बताएका छन्। उनले विशेष सांसदहरूले संसदमा कुरा उठाएर पनि काम नहुँदा दु:ख लाग्दो विषय रहेको बताउँदै यस्ता कुराहरूमा हामीले ध्यान दिनु पर्ने बताएका छन्।

About Author

Advertisement