खरसाङ: जीटीए चिफ् अनित थापाले आफ्नो दुईवटा समष्टिहरूमा खरसाङ गिध्द पहाड़ समष्टिलाई छोड्ने अनि यस समष्टीमा उप चुनाव गराउन पेमेन्द्र गुरुङको नाम भागोप्रमोको प्रार्थीको रूपमा हुनेछ भनी घोषणा गरेका थिए। उक्त घोषणा भएपछि पहिलोपल्ट पत्रकारहरूसित कुराकानी गर्दै पेमेन्द्र गुरुङले जीटीए चिफ् अनित थापाले मेरो नाम घोषणा गरेकोमा खुशी छु अनि पार्टीप्रति मेरो योगदानलाई हेरेर मलाई प्रार्थीको लागि नाम घोषणा गरेकोमा आभारी छु भनी बताएका छन्। उनले पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा खरसाङ गिध्द पहाड़ समष्टिमा उप चुनाव भए मेरो नामको घोषणा गरिएपछि धेरैले आफुलाई विभिन्न प्रकारले बधाई र शुभकामना दिईरहेको बताउँदै मलाई यस उप चुनावको लागि साथै खरसाङ गिध्द पहाड़ समष्टिको लागि योग्यको सम्झेर नाम घोषणा गरिएको हुनसक्छ भनी बताएका छन्। उनले यस विषयमा बोल्दै मैले यस समष्टीमा समष्टी सभापतिको रूपमा काम गर्दै आईरहेको छु। त्यसैले पनि मलाई मौका दिएको हुनसक्छ भन्दै आफ्नो नाम आएपछि युवा शक्तिका युवाहरूले पनि मेरो नाम आएपछि अझ काम गर्न ऊर्जा थपिएको पनि बताईरहेको जानकारी गराएका छन्। समष्टीको सभासद भएपछि युवा शक्ति खरसाङ महकुमा समितिको सभापतिको रूपमा रहनुहुन्छ भन्ने प्रश्नको उत्तरमा पार्टीले जे निर्देशन दिन्छ त्यही गर्ने पनि बताएका छन्। जीटीए चिफ् अनित थापाले छोडेको खरसाङ गिध्द पहाड़ समष्टिबाट आफुले जित्ने कुरामा आशावादी रहेको पनि पेमेन्द्र गुरुङले पत्रकारहरूलाई बताएका छन्। उनले यस विषयमा भने, ‘उप चुनावको लागि मेरो नामको घोषणा भएको छ र अब चुनावको नोटिफिकेशन आएपछि तयारी पनि थालिने छ। खरसाङ गिध्द पहाड़ समष्टिमा पार्टीको सांगठनिक रूपमा कार्य गरिरहेको थिए र अब एकजना जनप्रनिधिको रूपमा पनि जनताको लागि सेवा गर्ने मौका पाएको छु तर सबै जनताको माया, साथ र आशर्वादको खाँचो छ। तपाईहरू सबै जनताले मलाई जनताको सेवा गर्ने मौका दिनेछ भनी आशा राखेको छु।’







