खरसाङ: खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा सम्पन्न टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टको फाइनल खेल आज सम्पन्न भएको छ। खरसाङको भिक्टोरिया खेल मैदानमा सम्पन्न भएको टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टको उपाधि सिलगढीको फेन्तम क्लबले जितेको छ। आज सम्पन्न भएको फाइनल खेल सिलगढीको फेन्तम खेल र रेबल पीस् मिरिकमाझ सम्पन्न भएको थियो। रेबल पिस मिरिकले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित बीस ओभरमा १४६ रन बनाएको थियो। १४७ रनको लक्ष्यलाई सिलगढीको फेन्तम क्लबले १९.४ ओभरमा नै सात विकेट गुमाएर प्राप्त गरेको छ। यस टुर्नामेन्टमा म्यान अफ् द म्याच किसन जसवाललाई प्रदान गरिएको छ जसले ४० बलमा ५१ रनको महत्वपूर्ण पारी खेलेका थिए। त्यसरी नै फेन्तम क्लब सिलगढीको खेलाडी मनोज प्रसादलाई सर्वोच्च विकेट टेकर अनि म्यान अफ् द सिरिजको पुरस्कार मिरिकका खेलाड़ी रोहन गुरुङलाई प्रदान गरियो जसले प्रतियोगिताभरि १८९ रन बनाएका थिए भने ३ विकेट पनि लिएका थिए।

फाइनल खेलमा बिजयी दललाई ट्रफिसहित नगदराशि बीस हजार अनि उप विजेता दललाई ट्रफिसहित नगदराशि १० हजार प्रदान गरिएको छ। खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा सम्पन्न टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टमा जम्मा १६ वटा क्रिकेट दलहरूले सहभागिता जनाएका थिए। यस क्रिकेट टुर्नामेन्ट विषयमा खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको उप सभापति फुर्बा घिसिङले पत्रकारहरूलाई विस्तृत रुपमा जानकारी गराएका छन्।







