फीफा वर्ल्ड कप २०२२-को फाइनलमा अर्जेण्टिना विरुद्ध पराजयको सम्मुखीन भएपछि फ्रान्सका दिग्गज स्ट्राईकर करीम बेञ्जेमाले अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यासको घोषणा गरे। बेञ्जेमा चोटले गर्दा वर्ल्ड कपमा फ्रान्सको तर्फबाट मैदानमा ओर्लिन सकेनन्। रियल म्याड्रिडका यस फूटबलरले आफ्नो ३५औं जन्मदिनको अवसरमा अन्तर्राष्ट्रिय फूटबलबाट बिदा लिने घोषणा गरे। बेञ्जेमाले फ्रान्सको निम्ति जम्मा ९७ वटा म्याच खेले। उनको नाममा ३७ गोलको साथमा २० वटा गोल एसिस्ट पनि रहेको छ। बेञ्जेमाले ट्वीट गरेर आफ्नो सन्न्यासको जानकारी दिँदै भने, आज म जहाँ छु, त्यहाँसम्म पुग्न मैले प्रयास गरे अनि गल्तीहरू पनि। मलाई यसमाथि गर्व छ। मैले आफ्नो कहानी लेखे अनि कहानी समाप्त भइरहेको छ।
विश्वका सर्वश्रेष्ठ खेलाड़ीको रूपमा बेलोन डीओर पुरस्कार जित्ने बेञ्जेमाको वर्ल्ड कपमा हिस्सा लिने सपना गत महिना नै समाप्त भएको थियो। कतरमा टुर्नामेण्ट शुरु हुन अघि टीमसँग अभ्यास गर्दा उनको देब्रे खुट्टाको मांसपेशीमा चोट लागेको थियो। बेञ्जेमा २०१४-को वर्ल्ड कपमा फ्रान्सको तर्फबाट सर्वाधिक गोलदाता रहेका थिए। त्यसपछि उनले २०१८-मा रुसमा भएको वर्ल्ड कप चाहिँ खेल्न सकेनन्। फ्रान्स टीमका तत्कालीन साथी म्याथ्यू वालबुएनासँग सेक्स टेप प्रकरणमा कथित भूमिकाले गर्दा उनलाई त्यस समय टीमबाट बाहिर गरिएको थियो। त्यस प्रकरणले गर्दा बेञ्जेमाको प्रतिष्ठालाई ठूलो नोक्सान भएको थियो अनि उनले धेरै आलोचनाको पनि सामना गर्नु परेको थियो।
अक्टोबर २०१५ पछि उनी लामो समयसम्म राष्ट्रिय टीमबाट बाहिर रहे तर गत वर्ष मईमा प्रशिक्षक दिदिएर डेसच्याम्प्सले उनलाई टीममा फर्काए। प्रशिक्षकसँग आफ्नो सम्बन्धमा सुधारको साथ बेञ्जेमाले फ्रान्सको निम्ति १६ वटा म्याचमा १० गोल गरे अनि कालियन एम्बाप्पेसँग असाधारण जोड़ी पनि बनाए। गत वर्ष यूरोपेली च्याम्पियनशीपमा उनी चार गोलको साथ सर्वाधिक गोलदाता रहेका थिए। कतरमा भएको वर्ल्ड कपमा बेञ्जेमाको स्थान लिने ओलिवर गिरोडले असल प्रदर्शन गर्दै ४ गोल गरे। अन्तमा फ्रान्सले आइतवार भएको फाइनलमा अर्जेण्टिना विरुद्ध पेनल्टी शूटआउटमा ४-२ (३-३)- ले हारको सामना गर्नु पऱ्यो।







