कालचिनी- कालचिनी खण्डको बक्सा ब्याघ्र प्रकल्प पश्चिम अधीनस्थ रहेको राइमाटाङ बनबस्तीमा इण्डियन रेड क्रस सोसाइटी अलिपुरद्वार जिल्ला शाखाको पहलमा गाउँका प्रायः १०० जना महिलाहरूलाई हाइजीन किट्स वितरण गरियो| इण्डियन रेड क्रस सोसाइटी अलिपुरद्वार जिल्ला शाखाका सचिव सपन आचार्य भादुड़ी लगायत तिनको टोली सदस्यहरूमा प्रसुन रोय, सञ्जय दत्ता, अरिजीत मालाकर अनि रामकुमार लामाको उपस्थितिमा गाउँलेहरूलाई स्वास्थ्य सचेतना साथै भलाकुसारी गरेपछि उपस्थित महिलाहरूलाई हाइजीन किट्स वितरण गरिएको थियो|
हाइजीन किट्स पाएर गाउँले महिला अनि युवतीहरूले यसरी दुर्गम ठाउँमा आएर इण्डियन रेड क्रस सोसाइटीले असल कार्य गरेकोमा आभार व्यक्त गरेका छन्| यता हाइजीन किट्समा महिलाहरूको निम्ति सेनेटरी न्यापकिन लगायत साबुन, तेल इत्यादि सामग्री रहेको र एउटा प्याकेटले परिवारलाई प्रायः२ सप्ताहसम्म पुग्ने बताउँदै इण्डियन रेड क्रस सोसाइटी अलिपुरद्वार जिल्ला शाखाद्वारा धेरै स्वास्थ्य शिविर, रक्तदान शिविर अनि अन्यान्य सचेतनामुलक कामहरू गर्दै आइरहेको र अझै धेरै कार्यहरू रहेको सोसाइटीको सचिव सपन आचार्य भादुड़ीले जनाएका छन्|








