कालचिनी- कालचिनी थाना अन्तर्गत पर्ने दमनपुर क्षेत्रको एकजना विवाहित युवकले रुखमा झुण्डिएर आत्महत्या गरेको घटना प्रकासमा आएको छ| पुलिसले उक्त मृत युवकको शव दमनपुर संलग्न नोनाई नदीको तीरमा अवस्थित एउटा रुखको हॉंगाबाट उद्धार गरेपछि कालचिनी थानामा ल्याएको थियो| छोराको शवलाई पोस्टमार्टमको निम्ति अलिपुरद्वार पठाउन कालचिनी थानामा आइपुगेका मृतक छोरोको पिता चन्दन हल्दारले बताएअनुसार छोरा समीर हल्दार (२८) दैनिक यताउति काम गर्दै आइरहेको र कोहीबेला आफूसितै मिस्त्री काम पनि गर्ने गरेको तर आइतबार बिहान घरबाट नदीतर्फ गएपछि दिनभरी फर्केर आएनन्|
अन्ततः जङ्गलमा दाउरा खोजेर आउनेहरूले छोराको रुखमा पासो लगाएर झुण्डिएको शव देखेर बताउँदा छॉंगोबाट झरेको जस्तो भएको दुखित पिता चन्दन हल्दारले जनाएका छन्| के कारणले छोराले यसरी आत्महत्या गर्यो केही थाहा नभएको घरमा बुहारी र कसैसित केही झगड़ा र अनबन पनि नरहेको तर किन छोराले यसरी पासो लगाएर आत्महत्या गर्नु पर्यो बुझ्न नसकिएको पिता चन्दन हल्दारले जनाएका छन्| यता मृतक युवक समीर हल्दारको शवलाई आज कालचिनी थानाको पुलिसबलले पोस्टमार्टमको निम्ति अलिपुरद्वार जिल्ला अस्पतालमा पठाएको जनाएका छन् भने प्राथमिक जॉंचमा यो झुण्डिएर आत्महत्या नै गरेको प्रतीत भएको र पोस्टमार्टम रिपोर्ट आएपछि मात्र सही कुरा थाहा लाग्ने जनाएका छन्|









