सिलगढी: गोर्खाल्याण्डको माग गर्दै गठन गरिएको राष्ट्रिय गोर्खाल्याण्ड राज्य माग समिति (जीडीएसएनसी)ले दिल्लीमा विभिन्न राज्यमा रहने प्रवुद्ध गोर्खा व्यक्तित्वहरुलाई समेट्दै राष्टिय समिति गठन गरेको छ। देशभरका २२ राज्यबाट आएका प्रतिनिधिहरुको उपस्थितिमा भएको बैठकमा सर्वसम्मत रुपमा पदाधिकारी चयन गरिएको छ। बैठकमा गोर्खाल्याण्डका लागि संगठनले गर्ने आउँदो कार्यक्रमका लागि रणनीति तय गरिएको छ। बैठकपछि गरिएको पत्रकार सम्मेलनमा बोल्दै जीडीएसएनसीका अध्यक्ष प्रभाकर देवानले आउँदो वर्ष फरवरी महिनाको १० देखि १२ तारिखसम्म गोर्खाल्याण्डका सन्दर्भमा तीन दिने कार्यक्रम आयोजना गर्ने बताएका छन्। बैठकमा आउँदो कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरिएको उनले बताए। बैठकमा विभिन्न राज्यमा प्रदेश समितिको गठन गर्दै सदस्यता जोड्ने अभियान पनि शुरु गर्ने र त्यसका लागि प्रदेशका संयोजकहरुलाई जिम्मेवारी दिइएको छ।
गोर्खाल्याण्डका लागि पहिल्यै देखि कयौं संघ-संस्थाहरुले काम गरिरहेको सन्दर्भमा को गठन किन गरिएको हो भन्ने प्रश्नमा जवाफ दिँदै देवानले गोर्खाल्याण्डको मुद्धा एउटै भएर विभिन्न राजनीतिक दल र संघ संस्थाले लड्दा त्यसले फरक नपर्ने भाव प्रकट गरे। समारोहमा बोल्दै जीडीएसएनसीका कोषाध्यक्ष विशाल छेत्रीले दिल्लीमा राष्ट्रिय समति सफलतापूर्वक गठन गरिएको भन्दै बैठक सफल भएको बताए। उनले गोर्खाल्याण्डको माग गर्ने विभिन्न राजनीतिक दल र संगठनहरुलाई एकसाथ आउन आग्रह गरेका छन्।
त्यसैगरी विभिन्न प्रदेशबाट आएका प्रतिनिधिहरुले गोर्खाहरुको पहिचानको लागि गरिएको गोर्खाल्याण्डको मागलाई समर्थन गर्न आफूहरु राष्ट्रिय गोर्खाल्याण्ड राज्य माग समितिमा आवद्ध भएको बताएका छन्। राष्ट्रिय समितिका अध्यक्षमा प्रभाकर देवान, उपाध्यक्षमा उत्तम छेत्री, दिल्ली, एस जोशी नागाल्याण्ड, बीएस राणा उत्तराखण्ड, महासचिवमा गौतम कालीकोटे, सहसचिवमा संजय पाण्डे नागाल्याण्ड, कोषाध्यक्षमा विशाल छेत्री, सहकोषाध्यक्षमा डीके बोम्जन, वित्त सचिवमा शैलेन्द्र गुरुङ, मध्यप्रदेश, कानूनी सल्लाहकारमा जितेन्द्र चापागाईं र नागाल्याण्डका दीपक छेत्रीलगायतलाई सदस्यमा चयन गरिएको छ।









