सिलगढी: मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रद्वारा आउँदो ३१ दिसम्बर र १ जनवरीको दिन आयोजित सदभावना सम्मेलनको तयारी मझुवा गाँउ सालुगढास्थित मानव धर्म आश्रमको परिसरमा तीब्र गतिमा भइरहेको छ। सम्मेलनलाई सम्बोधन गर्न आउनुहुने मानव धर्मका प्रणेता सदगुरुदेव श्री सतपालजी महाराज एवम् दिव्य परिवार लगायत देश- विदेशका विभिन्न प्रान्तहरूबाट आउनुहुने सन्त महात्मागणलगायत दर्शनार्थी तथा भक्तजनको भोजन, भण्डारा, आवास, शौचालय, सत्संग पण्डाल आदिको निर्माणको काम पनि भइरहेको छ। कोरोना संक्रमणका कारणले दुई वर्षदेखि सदभावना सम्मेलन हुन नसकेको विषयमा जानकारी दिँदै मानव उत्थान सेवा समितिका उत्तर पूर्वाञ्चल क्षेत्रका अध्यक्ष महात्मा आदिना बाईजीले सम्मेलनलाई सफल बनाउन समितिका सन्त महात्मा कार्यकर्ता, मानव सेवा दल, युवा प्रकोष्ठ तथा स्थानीय मानिसहरूको सहभागिता रहेको बताइन्। आपसी भ्रातृत्व-प्रेम र सदभावनाको उदेश्यका साथ सालुगढा नजिकैको मझुवा गाँउस्थित मानव धर्म आश्रमको परिसरमा आउँदो ३१ दिसेम्बर र १ जनवरी २०२३ मा आयोजना सदभावना सम्मेलन हुन लागेको हो। यस अवसरमा मानव धर्मका प्रणेता सद्गुरुदेव श्री सतपालजी महाराजजीका साथमा आत्मानुभवी सन्त महत्गणको उपस्थिति रहनेछ। कार्यक्रमलाई सफल बनाउन उत्तर पूर्वाञ्चल क्षेत्रका अध्यक्ष महात्मा आदिना बाईजीको अध्यक्षतामा मानव उत्थान सेवा समिति र मानव सेवा दलका वरिष्ठ कार्यकर्ताहरुको बैठक निरन्तर भईरहेको छ। मझुवा गाँउका सामाजिक, धार्मिक संगठनका कार्यकर्ताहरू र मानव उत्थान सेवा समिति र मानव सेवा दलका कार्यकर्ताहरू माझ पनि सभा भईसकेको छ। सम्मेलनको सफलताको लागि स्थानीय सामाजिक, धार्मिक कार्यकर्ताहरूले सह्रदयले सहयोग पुर्याउने बचन दिएका छन्।
सबैको आपसी सहयोगले नै सदभावना सम्मेलन सफल कुरो महात्मा अदिना बाईजीले बताइन्। उनले सम्मेलनलाई सफल बनाउन सबै भक्तजनलाई पुनः आग्रह गरिन्। विश्वभरि नै अध्यात्म तथा मानव धर्मको झण्डा फहराउनुहुने आदरणीय सद्गुरु श्री सतपालजी महाराजका साथसाथै देश-विदेशबाट सम्मेलनमा सहभागी बन्न आउने भक्तजनको लागि सबै प्रकारको सुविधा दिने जिम्मेवारी हामी सबैको हो भनी समितिका मूल सचिव प्रकाश हाङखिमले बताए। अध्यक्ष महात्मा अदिना बाईजी, मूल सचिव प्रकाश हाङखिम, सेवादलका प्रान्तपाल भीम प्रकाश राई, हेमराज गुरुङले आआफ्ना सम्बोधनमा सद्गुरुदेव श्री सतपालजी महाराजले सदभावना सम्मेलनहरू मार्फत देश र समाजमा अध्यात्म ज्ञानको प्रचारप्रसार गरी मानिसहरूको ह्रदयमा सदभावनाको बीजारोपण गर्नुहुने बताए। यस उद्देश्यका लागि प्रत्येक वर्ष सिलगढीमा सदभावना सम्मेलन पनि हुने गरेको र अहिले यो सिलगढीको सदभावना सम्मेलन अन्तर्राष्ट्रिय स्तरको भएको छ जसको विश्वका ४० देशहरूमा इन्टरनेटको माध्यमद्वारा प्रत्यक्ष प्रसारण हुने कुरोको जानकारी दिँदै सदभावना सम्मेलन एक सशक्त आध्यात्मिक क्रान्ति रुप रहेको कुरो बताए। यो आध्यात्मिक महान् ज्ञान यज्ञमा सबैले यथाशक्य तन, मन, धनको सेवाको आहुति दिन समितिकी उत्तर पूर्वाञ्चल क्षेत्रकी अध्यक्षा महात्मा आदिना बाईजीले भक्तजनलाई अपील गरेका छन्। यस बारेमा मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल प्रचारप्रसार क्षेत्रका मेघनाथ छेत्रीले विज्ञप्ति जारी गरेर बताएका छन्l









