गान्तोक: रिफर्म कलले शुरू गरेको सिक्किम सुधार यात्राको २५औं दिन पूरा भएको छ। रिफर्म कलले सोरेङ, गेजिङ, पाकिम र नाम्ची जिल्लाहरूको भ्रमण समाप्त गरेर आजदेखि गान्तोक जिल्लाको भ्रमण शुरू गरेको छ। गान्तोकपछि मंगन जिल्लाको भ्रमण शुरू गर्ने बताइएको छ।
रिफर्म कलका अध्यक्ष गणेश राईले गान्तोकमा पत्रकारहरूसँग कुराकानी गर्दै पार्टी खोल्नअघि प्रथम चरणको कार्यक्रम अन्तर्गत सिक्किम सुधार यात्रा शुरू गरिएको बताए। उनले सिक्किममा एउटा नयाँ राजनीतिक दल गठन हुन लागिरहेको र यसको विषयमा मानिसहरूलाई जानकारी गराउन अनि उनीहरूको विचार बुझेर सोही अनुरूप पार्टी तयार गर्ने उद्देश्यका साथ यो यात्रा शुरू गरिएको हो भनी बताए।
सिक्किमे जनताले राजनीतिक पार्टी घोषणा गरिने तारिक चाँडै थाहा पाउने उनले बताए। उनले भने, ‘सिक्किमले पुराने तरिकाको राजनीतिलाई अङ्गालिरह्यो भने ठूलो संकट झेल्नु पर्नेछ। सिक्किमले ठूलो संकटको रूपमा आर्थिक संकट झेल्नु पर्नेछ र समस्याहरू शुरू भइसकेका छन्। हामी यसबाट कसरी बाहिर आउन सकिन्छ भन्ने समाधानहरू लिएर आउने छौ।’