गान्तोक: प्रधानमन्त्री नरेन्द्र मोदीको गरिमामय उपस्थितिमा मेघालयको राजधानी शिलङमा पूर्वोत्तर परिषदको ऐतिहासिक स्वर्ण जयन्ती समारोहको आयोजन गरियो। यस समारोहमा पूर्वात्तर राज्यका राज्यपालहरू र मुख्यमन्त्रीहरू उपस्थित थिए। सिक्किमका राज्यपाल गंगा प्रसाद पनि समारोहमा सहभागी बने। कार्यक्रममा प्रधानमन्त्री मोदीले धेरै महत्वपूर्ण परियोजनाहरूको उद्घाटन, लोकार्पण एवं शिलान्यास गरे।
प्रधानमन्त्रीले भने, ‘उत्तर पूर्व राज्यहरूमा विभिन्न परियोजनाहरूले यी क्षेत्रहरूको विकास पथमा अविरल गति प्राप्त हुनेछ ।’ प्रधानमन्त्रीले पूर्वात्तरलाई सुरक्षा एवं समृद्धि तथा अन्तरराष्ट्रिय व्यापारको प्रवेश द्वार बताए। उनले भने, ‘उत्तर पूर्वी परिषदले उत्तर पूर्वी क्षेत्रको आर्थिक र सामाजिक विकासलाई गति प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ जसमा अरुणाचल प्रदेश, असम, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, सिक्किम र त्रिपुरा आठ राज्य सामेल छन्।’
राजभवनद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको अटूट प्रयास एवं सक्षम मार्गदर्शनमा सम्पूर्ण पूर्वोत्तर राज्यहरूको विकासले अविरल गति प्राप्त गरेको छ। गत 8 वर्षमा उनका कुशल नेतृत्व एवं संरक्षणमा पूर्वोत्तर राज्यले अझ उचाई प्राप्त गर्न सक्षम बनिरहेको छ।’