गान्तोक: राजधानीको कञ्चनजङ्घा शपिङ प्लाजा (लाल बजार) मा अवैध कब्जा एवं अतिक्रमण मामिलामा हाम्रो सिक्किम पार्टी (एचएसपी) ले गान्तोक नगर निगमप्रति आफ्नो समर्थन व्यक्त गरेको छ। निगमका मेयर तथा उपमेयरले हालेमा ठगीको माध्यमबाट बजार कब्जा गरेको गम्भीर उपद्रवको खुलासा गरेको एचएचपीले जनाएको छ।
एचएसपीका महासचिव बिराज अधिकारीले प्रेस विज्ञप्तिमा भनेका छन्, अनाधिकृत तरिकाले आफ्नो व्यापार जारी राख्ने हकरहरूलाई चिन्हित गरेर उनीहरूलाई निकाल्ने निगमको निर्णयलाई एचएसपीले समर्थन जनाउँद छ। यसै गरी, हकरहरूबाट प्रमाणको रूपमा आरसी अथवा सिक्किम सब्जेक्ट प्रमाणपत्र माग गर्ने निर्णय पनि उतिकै आवश्यक एवं सराहनीय छ।
एचएसपीले राज्यमा आईएलपी लागू गर्नुपर्ने माग गर्दै आएको तथा आईएलपी लागू गरेको भए यस्ता धेरै मामिलाहरूको समाधान हुने महासचिव अधिकारीले विज्ञप्तिमा उल्लेख गरेका छन्। दोकान मालिकहरूले मेयरको नाममा पाँच लाख रूपियाँ दिएको कुरा मेयर स्वयंले बताएको उनले अवगत गराएका छन्। यस सन्दर्भमा उनले जाँचको माग गर्दै दोषीहरू विरूद्ध कारबाहीको माग गरेका छन्। उनले एचएसपी सबै समुदायका लागि अनुकूल व्यापार वातावरणको पक्षमा रहेको तर, व्यापार कानूनी रूपमा वैध हुनुपर्छ भनी बताएका छन्। उनले अवैध कब्जा गर्नेहरू विरूद्ध कारबाही गरिनु पर्छ तर, वैध व्यापारीहरूलाई सताउनु हुँदने भनी बताएका छन्।