कालचिनी – आइतबार डुवर्सको अलिपुरद्वार जिल्ला अधिनस्थ कालचिनी खण्डको राजाभातखावामा बनबस्ती बासिन्दाहरूको जल, जंगल र जमीनमाथिको अधिकारको आवाजलाई ससक्त बनाउँदै १६औँ बनग्रामवासी दिवस पालन गऱ्यो। उत्तरबंगाल बन जन श्रमजीवी मञ्चको आयोजनामा सम्पन्न यस अवसरमा उत्तरबंगालका विभिन्न बनबस्ती क्षेत्रका एफआरसी प्रतिनिधि अनि विविध जनजाति समूहका लोक सांस्कृतिक कलाकारहरूले आ-आफ्नो भाषाको गीत अनि नृत्य प्रदर्शन गरेर रमाईलो गरेको थियो। मूलतः आजको दिन नै भारतीय संसदमा फरेस्ट राइट्स एक्ट पास गरिएकोले यसलाई बनबस्ती बासिन्दाहरूले बनबासी दिवस अर्थात बनग्रामवासी दिवसको रुपमा मनाउँदै आइरहेको र आज यसै दिनको महत्वलाई उजगार गर्दै बनाधिकारको लागि एकजुट बन्ने आह्वान उत्तरबंगाल बन जन श्रमजीवी मञ्चको प्रतिनिधिहरूले गरेको थियो।
कार्यक्रममा डुवर्सको आदिम जनजातिय सांस्कृतिक टोलीहरू नेपाली, गारो, राभा, आदिवासी, मेच, सन्थाली, डुक्पा, एवम् अन्यान्य जातिको नृत्य प्रदर्शन भएको थियो भने कार्यक्रम स्थलमा बनबस्ती क्षेत्रका बासिन्दाहरूको आ-आफ्नो सांस्कृतिक औ पारम्परिक प्रदर्शनी स्टलहरू पनि राखिएको थियो। आज सम्पन्न कार्यक्रममा बनाधिकार आन्दोलनका शीर्ष नेता सौमित्र घोष, उत्तरबंगाल बन जन श्रमजीवी मञ्चको नेता सुन्दरसिंह राभा, सुन्तलाबारी एफआरसी प्रतिनिधि अरुणकुमार राई, एवम् विभिन्न बनबस्ती क्षेत्रका बासिन्दाहरूको उपस्थिति रहेको थियो। सो अवसरमा आयोजक कमिटीको पक्षबाट सहभागी नेपाली, गारो, राभा, मेच, आदिवासी, सन्थाली औ लाली गुराँस समूहका कलाकार प्रतिनिधिहरूलाई सम्वर्द्धना स्वरूप स्मृति चिन्ह प्रदान गरीएको थियो। आगामी दिन बनबासीको अधिकार सम्बन्धमा उत्तरबंगाल बन जन श्रमजीवी मञ्चले संगठित आन्दोलन गर्ने र एफआरएले दिएको अधिकारमा बनबस्ती बासिन्दाहरूलाई सजग गर्दै लैजाने उत्तरबंगाल बन जन श्रमजीवी मञ्चको कन्भेनर लालसिंह भुजेलले जनाएका छन्।