स्पिन बलरहरूका प्रभावशाली प्रदर्शनको दममा भारतले पहिलो क्रिकेट टेस्ट म्याचमा बंग्लादेशलाई १८८ रनले पराजित गऱ्यो। जीतको निम्ति ५१३ रनको लक्ष्यलाई खेदो गर्दै म्याचको पाँचौं तथा अन्तिम दिन बंग्लादेशको दोस्रो ईनिंग्स ३२४ रनमा समाप्त भयो। भारतले आज बिहान पहिलो सत्रको खेलमै आयोजक बंग्लादेशको चुनौती समाप्त गऱ्यो। म्याचमा ८ विकेट (पहिलो ईनिंग्समा ५ अनि दोस्रो ईनिंग्समा ३) लिने भारतीय स्पिनर कुलदीप यादवलाई प्लेयर अव् द म्याच चयन गरियो। यस जीतको साथै भारतले दुईवटा टेस्ट म्याचको सीरीजमा १-०-को अजेय बढ़त पनि हासिल गऱ्यो।

म्याचको पाँचौं तथा अन्तिम दिन भारतलाई जीतको निम्ति केवल ४ विकेटको आवश्यकता थियो। चट्टग्रामको जाहुर अहमद चौधरी स्टेडियममा बंग्लादेशले आज चौथो दिनको स्कोर ६ विकेटमा २७२ रनदेखि अघि खेल्न शुरु गऱ्यो। यसरी बंग्लादेशले आज केवल ५२ रन बटुलेर रहल ४ वटा विकेट गुमायो। भारतको निम्ति चुनौती बनेर अघि आउने शाकिब अल हसन शतक बनाउनदेखि वञ्चित भए। शाकिबले १०८ बल खेलेर ६ वटा चौका र ६ वटा छक्काको साथ ८४ रन बनाए। बंग्लादेशले आज सबैभन्दा पहिला मेहदी हसन मिराज (१३)-को विकेट गुमायो। त्यसपछि शाकिब, एबादोत होसेन र ताईजुल इस्लाम आउट भए। भारतीय बलरहरूमा देब्रे हातका स्पिनर अक्षर पटेलले सर्वाधिक ४ विकेट लिए। यसबाहेक कुलदीपले ३ विकेट हासिल गरे। म्याचमा भारतले आफ्नो पहिलो ईनिंग्समा ४०४ रन बनाएको थियो। त्यसपछि बंग्लादेशको पहिलो ईनिंग्स १५० रनमा समाप्त भएको थियो। भारतले २ विकेटमा २५८ रन बनाएर दोस्रो ईनिंग्स घोषित गर्दा बंग्लादेशलाई ५१३ रनको लक्ष्य हासिल भएको थियो। भारतको दोस्रो ईनिंग्समा शुभमन गिल र चेतेश्वर पुजाराले शतक बनाएका थिए।