गान्तोक: आज सिक्किमका राज्यपाल गंगा प्रसादको बाहुलीद्वारा रामकृष्ण चावलाद्वारा लिखित सनातन धर्मका अवर्णनीय स्तम्भ स्वामी गुरुचरण दासजी महाराजको जीवनमाथि आधारित ग्रन्थ एक सच्चे सन्त की आध्यात्मिक जीवनी र अङ्ग्रेजी संस्करण ‘स्पिरिचुअल बायोग्राफी अफ् ए सन्त को विमोचन राजभवनमा सम्पन्न गरियो। कार्यक्रमको आयोजन संस्कार भारती, सिक्किम, नेपाली साहित्य परिषद र सिक्किम अकादमीद्वारा संयुक्त तत्वावधानमा गरिएको थियो।
एक सच्चे सन्त की आध्यात्मिक जीवनी एवं अङ्ग्रेजी संस्करण ‘स्पिरिचुअल बायोग्राफी अफ् ए सन्त’ का लेखक दिल्ली निवासी चावला हुन्। उनी पेशाले सीए हुन् र अहिलेसम्म विभिन्न विषयहरूमा पाँचवटा पुस्तक प्रकाशित गरिसकेका छन्। उक्त पुस्तक स्वामी गुरुचरण दासजी महाराजको जीवनमाथि आधारित छ, जो अखिल भारतीय साधु समाजका आजीवन अध्यक्ष रहे। उनले भारतभूमिमा धेरै मन्दिर र शिक्षण संस्थान स्थापित गरे।
राज्यपालले आफ्नो सम्बोधनमा भने, “भारत सांस्कृतिक भूमि हो र हामीलाई हाम्रो संस्कृति, परम्परा विरासतको रूपमा प्राप्त भएको छ। हाम्रो प्राचीन पद्धतिलाई कायम राख्ने हामी सबैको दायित्व हो।’ उनले भने, ‘राम्रो पुस्तकले हरेक व्यक्तिको व्यक्तित्वलाई निखारने काम गर्छ र दृष्टिकोणमा पनि परिवर्तन ल्याउँछ। हामीले निरन्तर पुस्तक अध्ययन गर्नुपर्छ।’ राज्यपालले यो कृति समाजको निम्ति लाभदायक र उपयोगी सिद्ध हुने तथा यस कृतिले धेरैको जीवनमा सकारात्मक परिवर्तन ल्याउने आशा व्यक्त गरे।
कार्यक्रममा संस्कार भारती, सिक्किमका अध्यक्ष किरण रसाइली, सिक्किम अकादमीका अध्यक्ष एसआर सुब्बा, नेपाली साहित्य परिषदका अध्यक्ष रूद्र पौड्याल एवं अन्य गण्यमान्य जन उपस्थित थिए।










