गान्तोक। पूर्व सिक्किमको पाकिम जिल्लाअन्तर्गत छुजाचेन समष्टिको दलपचन्दमा पर्ने माङ्खिम डाँड़ामा २ करोड़ ३१ लाखको लागतमा निर्माण हुने राई जातिको मन्दिर माङ्खिमको आज मुख्यमन्त्री पीएस गोलेले विधिवत रुपमा शिलान्यास गरे। उल्लेखनीय छ, क्षेत्रको एउटा प्रमुख पर्यटनस्थल आरिटार लामपोखरिको शिरमा अवस्थित माङ्खिम डाँड़ामा एउटा पुरानो माङ्खिम छ जुन माङ्खिम सिक्किमकै सबैभन्दा पुरानो माङ्खिम हो भन्ने दैवी रहेको छ। यस माङ्खिमको निर्माण १९९०मा भएको हो। यसै सानो माङ्खिमलाई पुनर्निर्माणा गरेर भव्य माङ्खिम निर्माण गरिने अखिल सिक्किम किरात राई सङ्घ, सिक्किम, दलपचन्द शाखाका सभापति मणिकुमार राईले बताए।

दलपचन्दमै आयोजित राज्यस्तरीय साकेवा पर्वको अवसर पारेर आयोजित आजको माङ्खिम शिलान्यास कार्यक्रममा सहभागी बन्न धर्मपत्नी कृष्णा राईको साथमा मुख्यमन्त्री पीएस गोले दलपचन्द पुगेका थिए। आधिकारिक शिलान्यासको औपचारिकतापछि मुख्यमन्त्री र उनकी धर्मपत्नीले माङ्खिममा पुजा पनि गरे। त्यसपछि मुख्यमन्त्री स्थानीय हेलीप्याडमा आयोजित राज्यस्तरीय साकेवा पर्वमा मुख्य अतिथिको रुपमा सहभागी बनेका थिए।










