गान्तोक: जिल्लास्तरीय टीभी फोरमको एक सभा पाकिम जिल्लास्थित अतिरिक्त जिल्लापाल कार्यालयमा सम्पन्न भयो। यस सभाको अध्यक्षता पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेल लेप्चाले गरेका थिए, जसमा खण्ड विकास अधिकारी चन्दन सिंह सुब्बा, सीएमओ डा. टेम्पो ग्याल्छेन लगायत अन्य अधिकारीहरूले सहभागिता जनाएका थिए। सभामा डा. विशाल प्रधानले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा राष्ट्रीयस्तरमा क्षयरोगलाई वर्ष २०२५ सम्म निर्मूल पार्ने लक्ष्य राखेर काम गरिरहेको बताए। विशेष गरेर सस्टेनएवल डेभलोपमेन्ट गोल्स २०३० को अन्तर्गत यस रोगमाथि काम गरिरहेको अवगत गराए। यसरी नै डा. टेम्पोले जिल्ला क्षयरोग मञ्च, यसको गठन र उद्देश्यबारे जानकारी दिँदै उनले सन् २०२५ सम्ममा क्षयरोग उन्मूलनको लक्ष्य हासिल गर्न जिल्ला क्षयरोग मञ्चका सबै सदस्यहरूबीच टिमवर्क र समन्वयको महत्त्वमा जोड दिए।
सोही प्रकारले जिल्लापाल टाशी छोपेल लेप्चाले निक्षय मित्रको सन्दर्भमा औषधि कम्पनीहरूको सीएसआरको बारेमा कुरा राख्दै त्यसका लागि चाँडोभन्दा चाँडो बैठक सञ्चालन गर्ने प्रस्ताव राखे। उनले क्षयरोगीहरुको कल्याणका लागि निक्षय मित्रलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। उनले पीआरआई सदस्य र गैरसरकारी संस्थाहरूलाई जनचेतनामूलक गतिविधिहरू मार्फत क्षयमुक्त ग्राम पञ्चायत यूनिट बनाउने उद्देश्यले काम गर्ने पनि आग्रह गरे।










