नाम्ची: आज नाम्चीको बुमटारस्थित जवाहरलाल नेहरू स्मृति संस्था परिसरको सर-सफाईसँगै नाम्चीको हिमालयन फ्री चर्चले यस संस्थाका विद्यार्थीवर्गलाई प्रीति भोज दिएका छन्। २०२१ मा पञ्जीकृत भएको यस चर्चले समय समयमा विभिन्न प्रकारका सामाजिक कार्य गर्दै आएको बताइएको छ।यस अवसरमा यस चर्चका अध्यक्ष तेञ्जिङ भोटिया र महासचिव दिपक रसाइलीले यस प्रकारका सामाजिक कार्यहरू चर्चका सदस्यगणले इच्छाले दिएको अनुदानले गर्ने गरेको बताएका छन्। यस अघि उनीहरूले चर्चका निम्न वर्गका विदुवाहरूलाई वर्षेनी सहयोग राशि प्रदान गरेको, कोभिडका बिरामीहरूलाई सहयोग, कोभिडकालमा सरकारलाई सहयोग राशि आदि प्रदान गरेको जानकारी गराए। आगामी वर्ष वन विभागको सल्लाह र निर्देशनअनुसार बिरुवा रोपण गर्ने योजना पनि रहेको उल्लेख गरे। त्यसरी नै उक्त चर्चले यस प्रकारका कार्यहरू अन्य संस्थाहरूको सहयोगबिना निश्वार्थ भावमा गरिरहेको बताए। यस अवसरमा चर्चका पास्टर डेभिड राई, कोषाध्यक्ष पदमबहादुर कामी आदिको पनि उपस्थिति रहेको थियो।










