कालचिनी – अलिपुरद्वार जिल्लाको खेतीयोग्य भूमिमा धान खेतीको राम्रो उत्पादन साथै आलुको पनि खेती राम्रो भईरहेको तर आजसम्म जिल्लामा पञ्जाब र मध्यप्रदेश राज्यबाट आलुको बीउ आयात गर्न परिरहेको र यसको लागत पनि बढ़ी परेकोले अब कृषि विभागको पक्षबाट किसानहरूलाई सुलभ औ निःशुल्क दरमा नै उन्नत आलुको बीउ वितरण गर्ने दिशामा आज आत्मा प्रकल्पको पहल औ छवि फार्मर्स प्रोड्यूसर कम्पनी लिमिटेडको सहयोगितामा कालचिनी खण्डको प्रायः १०० परिवारलाई उन्नत आलुको बीउ वितरण गरिएको जानकारी कालचिनी सहकृषि अधिकारी प्रबोदकुमार मण्डलले दिएका छन्|
आज दक्षिण लोथाबारीमा सम्पन्न सो कार्यक्रममा अलिपुरद्वार जिल्ला उपकृषि अधिकारी हरिश राय र पार्थ दत्ता, एडीए उत्तरबंगाल, आत्मा प्रकल्पको चेयरम्यान अधीर राय, कालचिनी सहकृषि अधिकारी प्रबोद कुमार मण्डल, छवि फार्मर्स प्रोड्यूसर कम्पनी लिमिटेडको चेयरम्यान डालिम राभा एवम् अन्यान्य फार्मर्स क्लबका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो| सो शिविरमा उन्नत आलुको बीउ कुफरी ज्योति आलुको रोपण पोली नेटभित्र गर्ने पद्धतिबारे किसानहरूलाई प्रशिक्षण पनि गराईएको थियो भने यसै शिविरमा नै मकैमा लाग्ने किरा मार्न किटनाशक औषधि पनि वितरण गरिएको थियो| बंगश्री प्रकल्प अन्तर्गत यो शिविरले कालचिनी खण्डको किसानहरूले धेरै लाभ लिन सक्ने र जैविक तहमा धान, आलु र मकै एवम् अन्यान्य खेतीको उपार्जन गर्न सक्ने दाबी कालचिनी सहकृषि अधिकारी प्रबोदकुमार मण्डलले गरेका छन्|









