फूटबल खेल अनि खेलाड़ीहरूका ग्रास रूट लेभलबाट विकासको निम्ति निरन्तर कार्य गर्ने कालचिनी स्थित डुवर्स फूटबल एकाडमी (डीएफए)-को तत्त्वावधानमा आउँदो २२ दिसम्बरको दिन द ग्राण्ड फूटबल बोनाञ्जा-को आयोजन गरिनेछ। यस अवसरमा भारतीय फूटबलका उज्ज्वलतम् नक्षत्र तथा ब्याकभली सम्राटको नामले चिनिने लिजेण्ड श्याम थापाको विशेष उपस्थिति रहनेछ। एआईएफएफ तक्निकी समितिका पूर्व अध्यक्ष श्याम थापाले यस अवसरमा डीएफए-का युवा खेलाड़ीहरूसँग भेट गरी उनीहरूलाई महत्त्वपूर्ण परामर्श पनि दिनेछन्। यस अवसरमा दुईवटा भेटरन्स म्याचको पनि आयोजन गरिनेछ। पहिलो म्याच (५० वर्षभन्दा माथि) वाईबीए (सीडीटीई) र डीएससी (मेचपाड़ा)-बीच खेलिनेछ। यसरी नै दोस्रो म्याच (५० वर्षभित्र) केयूभी (कालचिनी) र डीआरभी (मादारी)-बीच खेलिनेछ। यस अवसरमा वर्तमान अनि पूर्व फूटबलरहरूलाई पनि आमन्त्रित गरिने डीएफए-का मुख्य प्रशिक्षक कुमार लामाले बताएका छन्। डीएफए-का अधिकारीहरूमा कुमार लामाको साथमा प्रकाश लामा (सह-प्रशिक्षक), मञ्जु उरावँ (सह-प्रशिक्षक), मोहम्मद हैदर अन्सारी (संरक्षक), अनुप लामा (अध्यक्ष), शंकर कुजुर (उपाध्यक्ष), पवन यल्मो (सचिव), मनिराज राई (सह-सचिव), ओम दास लोहार (कोषाध्यक्ष) र सुभाष नार्जीनरी (सह-कोषाध्यक्ष) सामेल छन्।









