भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, कालीझोड़ा शाखाको तत्त्वावधानमा आयोजित गोपाल प्रधान स्मृति विनर ट्रफी अनि शहीद उत्तम प्रधान स्मृति रनर अप् ट्रफी ओपन नक्आउट फूटबल टुर्नामेण्टमा सालुगढ़ाको अंश फूटबल एकाडमी क्वार्टर फाइनलमा पुग्यो। कालीझोड़ा फूटबल मैदानमा बुधवार भएको रोमाञ्चक म्याचमा अंश फूटबल एकाडमीले मारामार एफसी-लाई टाईब्रेकरमा ३-१-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा अंश फूटबल एकाडमीबाट रोहन रोय र बिकी रोयले १-१ गोल गरे। यसरी नै मारामार एफसी-बाट दुवै गोल करण राईले गरे। बिहीवार खेलिने म्याचमा मेनहुड कान्दुंग र सेलेसियन कलेज, सिलगढ़ीबीच भिड़न्त हुनेछ। ओपन टुर्नामेण्टमा जम्मा २८ वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल २७ र २८ दिसम्बरमा हुनेछ। यसरी नै फाइनल ३१ दिसम्बरमा खेलिनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक विनर ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक विनर ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा एकाधिक आकर्षक व्यक्तिगत नगद पुरस्कार र ट्रफीहरू पनि रहनेछ।