गान्तोक: भारतीय विश्वविद्यालय संघ (एआईयू) को दुई दिवसीय पूर्वी क्षेत्रका उपकुलपतिहरूको बैठक २०२२-२३ आज यहाँको एउटा होटलमा सम्पन्न भयो। शाक्षा शास्त्र अनि रुपान्तरित उच्च शिक्षाको विकासमा प्रविधीको प्रयोग विषयमा आयोजित यस बैठकको आज समापन समारोहमा ओडिशाका राज्यपाल प्रोफेसर गणेशी लाल मुख्य अतिथि रहेका थिए भने सिक्किम विधानसभाका अध्यक्ष अरुण उप्रेती विशिष्ट अतिथि रहेका थिए।
भेलालाई सम्बोधन गर्दै गभर्नर प्रो. गणेशी लालले गान्तोकमा यस महत्वपूर्ण बैठकलाई सफलतापूर्वक आयोजना गरेकोमा इक्फाई विश्वविद्यालय, सिक्किमलाई बधाई दिए। यस बैठकमा छलफल भएका कुराहरूले देशको उच्च शिक्षाको गुणस्तरमा सुधार ल्याउने उनले आशा व्यक्त गरे। यसको साथै प्रविधिको माध्यमबाट शिक्षाको गुणस्तर पुनरत्थान गर्नु अहिलेको आवश्यक्ता रहेको उनले आफ्नो सम्बोधनमा बताए। यसरी नै राज्यपाल प्रो. गणेशी लालले बैठकमा सहभागिता जनाउने सबै उपकुलपतिहरूलाई पनि बधाई दिए।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा विशिष्ट अतिथि विधानसभा अध्यक्ष अरुण उप्रेतीले शिक्षाको क्षेत्रमा प्रविधिहरूको आवश्यक्तामाथि जोर दिए। परम्परागत मूल्य र मान्यतालाई आधुनिक शिक्षाले अझ विकसित गर्ने उनले बताए।
समापन कार्यक्रमलाई ओडिशाका मुख्यमन्त्रीका प्रमुख सल्लाहकार डा. उपेन्द्र त्रिपाठी, भारतीय विश्वविद्यालय सङ्घका अध्यक्ष प्रो. सुरञ्जन दास र महासचिव डा. पंकज मित्तलले पनि सम्बोधन गरे भने कतिपय पुस्तकहरूको विमोचन पनि गरियो। यसरी नै भारतीय विश्वविद्यालय सङ्घद्वारा राज्यपाल प्रो. गणेशी लाल र ममुख्यमन्त्रीका शिक्षा सल्लाहकार उपेन्द्र त्रिपाठीलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड पनि प्रदान गरियो।