सिलगढी: १२ वर्षीय छात्रा सिलगढी प्रधान नगर थानाको दक्षिण पलाश इलाकाको निवासीको अपहरण गरेर हत्या गरेपछि यस घटनालाई लिएर गत २४ घण्टादेखि तनाउपूर्ण स्थिति देखा परेको छ। गत राती हत्या आरोपीको ससुराली घरमा तोड़फोड़ गरेपछि फेरि आज साँझमा स्थानीय मानिसहरूले सड़कमा टायर जलाएर विक्षोभ प्रदर्शन गरे। तनाउको स्थितिलाई ध्यानमा राखेर रातभरि नै इलाकामा अधिक संख्यामा पुलिस बल तैनाथ गरिएको थियो। घटनाक्रम अनुसार दक्षिण पलाश इलाकाको छैटौ श्रेणीमा पढ्ने एकजना छात्रा गत ५ दिसम्बर परीक्षा दिनको लागि स्कूल गएका थिए। परीक्षा सकेपछि पनि घर नफर्किए पछि छिमेकीको ज्वाईं मनोज रायले अपहरण गरेको आरोप लगाउँदै परिवार पक्षले प्रधान नगर थानामा प्राथमिकी दर्ता गरेको थियो। अपहरण गरेको ८ दिन पछि गत साँझमा छात्राको शव सुकना वन क्षेत्रको खैरानीबाट उद्धार गरेको थियो। यसपछि इलाकामा तनाउको स्थिति उत्पन्न भएको छ। हत्या आरोपीको ससुराली घरमा गत राति आक्रोशित मानिसहरूले ढुंगा-मुढा गर्नको साथै तोड़फोड़ गरे।