दिल्ली: देशको राजधानी दिल्लीमा एक छात्रामाथि एसिड हमलाको घटना सार्वजनिक भएको छ। एसिड हमलाबाट कक्षा १२ की छात्रा गम्भीर रुपले जलेको छ। हाल उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। पुलिसले यस विषयमा अनुसन्धान गरिरहेको छ। समाचारअनुसार यो घटना बुधबार बिहान करिब ७.३० बजे भएको हो। यो दिल्लीको द्वारका मोड क्षेत्रमा भएको घटना हो। छात्रालाई सफदरजंग अस्पतालमा भर्ना गरिएको छ। छात्रा १२ कक्षाकी विद्यार्थी हुन्। घटना लगत्तै दिल्ली पुलिसको टोली घटनास्थलमा पुगेर छात्रालाई सफदरजंग अस्पतालमा भर्ना गराए। दिल्ली पुलिसले पीडितलाई अस्पतालमा राम्रो चिकित्सा सुविधा दिइने बताएको छ। यद्यपी छात्रामाथि एसिड हमला गर्नुको कारण भने खुल्न सकेको छैन।
दिल्ली पुलिसका अनुसार बिहान ९ बजे पीसीआरमा सूचना प्राप्त भएको थियो। १७ वर्षीया छात्रामाथि एसिडले हमला गरेको जानकारी मोहन गार्डेन पुलिस थानाले पाएको थियो। सो हमला बिहान साढे ७ बजे दुई युवाले गरेको समाचारमा बताइएको छ। घटनाका क्रममा छात्राकी कान्छी बहिनी पनि उनीसँगै थिइन्। यस घटनामा पुलिसले एकजनालाई नियन्त्रणमा लिएको समाचारमा बताइएको छ। दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालीवालले यस विषयमा ट्वीट गरेकी छिन्। उनले द्वारका मोड नजिकै एक विद्यालयकी छात्रामाथि एसिड हमला गरेको लेखेकी छिन्, ‘पीडितलाई सहयोग गर्न हाम्रो टोली अस्पताल पुगिरहेको छ। छोरीलाई न्याय प्राप्त हुनेछl’ दिल्ली महिला आयोग देशमा एसिडमाथि प्रतिबन्ध लगाउन वर्षौंदेखि लडिरहेको छ। तर सरकार कहिले ब्यूँझिने?