खरसाङ: जीटीए क्षेत्रका चियाबारीहरूका लागि टि वर्कर्स वेलफेयर कमिटी गठन गरिएको छ र यदि कुनै पनि बगान बन्द हुन्छ भने यसै कमिटीले बगान सञ्चालन गर्नेछ भनी खरसाङको गिध्द पहाड़ समष्टि अन्तर्गत गौरी शंकर चियाबारीमा सम्पन्न पेय जल परियोजनाको शिलान्यास कार्यक्रममा मुख्य अतिथिको रूपमा बोल्दै जीटीए चिफ् अनित थापाले बताएका छन्। उनले जीटीए क्षेत्रका चिया बगानहरूका लागि टि वर्कर्स वेलफेयर कमिटी गठन गरिएको र जीटीए क्षेत्रका कुनै पनि बगान बन्द भए टि वर्कर्स वेलफेयर कमिटीले लिएर चलाउने छ भनी बताएका छन्। अनित थापाले यस कमिटीमा एक सयजना सदस्यहरूलाई लिएर टि वर्कर्स वेलफेयर कमिटी गठन गरिएको छ र प्रत्येक सदस्यबाट एक एक लाख गरेर संकलन गरेर बन्द भएको चियाबारी चलाउने बताउँदै यसै कमिटीले नै बन्द रहेको खरसाङको लङ्भ्यु चियाबारीको श्रमिकहरूलाई ४१ लाख ४३ हजार वितरण गरिएको पनि बताएका छन्। उनले अघि भने, ‘हामीले बगान लिएपछि कोही पनि मालिक हुँदैन तर सबैजना श्रमिकहरू र कर्मचारीहरू नै मालिक हुनेछन् कारण सबैजना श्रमिकहरू र कर्मचारीहरू हाम्रै मान्छे हुन्। हामीले य कमिटी बनाएर नाफा खानुलाई होइन तर जबसम्म राम्रो मालिक आउँदैन तबसम्म चियाबारी श्रमिकहरूको पक्षमा चियाबारी श्रमिकहरूको लागि नै सञ्चालन गर्नु हो।’
जीटीए चिफ् अनित थापाले चियाबारी मालिकवर्गलाई सावधान गराउँदै भने, ‘अब मालिकले हेप्न खोज्छ भने हामी श्रमिकहरूको पक्षमा उँभिएर कार्य गर्नेछौं कारण यसपाली मलाई जनताले जिताएर य पदमा राखेका छन् भने जीटीए क्षेत्रमा चियाबारी क्षेत्र बेसी छन्। मालिकवर्गलाई अब ढ्याङ्ररो बजाउनेछौं। तर पनि सबै बगानको मालिकहरू नराम्रो भने छैनन्। त्यसैले जीटीए क्षेत्रका चियाबारीका मालिकहरूलाई भन्छु कि जुन चियाबारी बन्द हुन्छ टि वर्कर्स वेलफेयर कमिटीले चियाबारी सञ्चालन गर्नेछ।’
गौरी शंकर चियाबारीमा सम्पन्न पेय जल परियोजनाको शिलान्यास कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित जीटीएको मुख्य कार्यपाल अनित थापाले गिध्द पहाड़ क्षेत्रमा १७ वटा गाउँहरू रहेको र प्रत्येक गाउँमा पिउने पानी लाने हाम्रो लक्ष्य रहेको छ भनी बताउँदै अब खरसाङ बजारमा पनि पानीको समस्या समाधान गर्नलाई ३३ करोड़को रिजर्ब ट्यांकीको लागि अनुमोदन भएको पनि जनाएका छन् थापाले अघि भने, ‘चुनाव सकेर तपाईहरू समक्ष आउन सकेको थिइन्। यस समष्टीबाट म उठेपछि मैले पनि नसोचेको भोट पाएको छु तर तपाईहरूसित राम्ररी भेटघाट गर्न सकेको थिइन् तर आज तपाईहरूलाई नै भेट्न आएको छु। तर अहिले मेरो जिम्मेवारी बेसी बढेको छ र सबैतिर जानुपर्छ। तर नसुर्ताउनु हवस म तपाईहरूसित नै छु।’
जीटीए चिफ् अनित थापाले पञ्चायत चुनाव विषयमा आफ्नो प्रतिक्रिया दिन्दै पहाड़मा चारपल्टसम्म चुनाव भएको छैन भन्दै सुकनादेखि र सिलगढीदेखि ९५० जनामा एकजना पञ्चायत सदस्य हुँदैछ तर हाम्रो पहाड़मा केवल ७०० जनामा एकजना पञ्चायत सदस्य हुने भएको छ भनी बताएका छन्। उनले यस विषयमा अघि भने, ‘एउटा बुथमा सदस्य घटेको भनेर भन्नु हाम्रो नै भूल हो कारण हामीले अहिले जनसंख्यामा ध्यान दिएका छैनौं। हामीले जनसंख्या बढ़ाउन सकेका छैनौं। हामीले सरकारलाई दोष दिन्छौं तर हामी आफै दोषी हौं कराण यसरी नै हाम्रो जातिको जनसंख्या घटेर गयो भने हाम्रो जाति डाईनोसरको जस्तै स्थिति हुनसक्छ। हामी जातिवादीको कुरा गर्छौं तर जनसंख्या घटेर जाति नै मासिएर गए के गर्नु? यस विषयमा लेखकहरूले लेख्नुपर्छ र कलाकरहरूले पनि जनसंख्या बढ़ाउन सचेतना गराउनुपर्छ।’