सिलगढी: बुधबार उत्तर बङ्गाल विश्वविद्यालयमा खुला छलफल आयोजना गरियो। बैठकमा विश्वविद्यालयको जग्गा बिक्रीको मुद्दा उठ्ने वित्तिकै वातावरण तनावपूर्ण बनेको छ। उपकुलपतिसँग रिसाएपछि त्यहाँ उपस्थित पूर्व विद्यार्थीले विरोध गर्न थाले। उल्लेखनीय छ, विश्वविद्यालय प्रशासनले बुधबार उत्तर बङ्गाल विश्वविद्यालयको अडिटोरियममा खुला छलफल आयोजना गरेको थियो। छलफलको क्रममा वर्तमान विद्यार्थी, पूर्व विद्यार्थीलगायत राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। तर, यही बैठकमा उपकुलपति ओमप्रकाश मिश्रलाई उत्तर बङ्गाल विश्वविद्यालयको जग्गा निजी संस्थालाई बिक्री गरेको विषयमा सोध्दा वातावरण गर्मिएको थियो। विश्वविद्यालयका पूर्व छात्र तथा वामपन्थी नेता तपस सरकारले उपकुलपतिले प्रश्नको उचित जवाफ नदिएर आफूलाई दुर्व्यवहार गरेको आरोप लगाए। प्रदीपन गांगुली नामका वकिलले पनि यस्तै गुनासो गरेका छन्। उनले बन्द कोठामा खुला छलफल हुन नसक्ने बताए। ‘जग्गा किन बेचिँदैछ र कुन ठेक्कामा बिक्री भइरहेको छ, सबैका अगाडि खुलाउनु पर्छ’, उनले भने। तर, उपकुलपति ओमप्रकाश मिश्रले विश्वविद्यालयले यस्तो खुला छलफल आयोजना गरेको यो पहिलो पटक भएको बताए। आउँदो दिनमा पनि यो क्रम जारी रहने साथै आफूसँग विद्यार्थी रहेको बताए।