५ जूनः विश्वकी नम्बर एक खेलाड़ी इगा स्वियातेकले पेरिसमा जारी फ्रेञ्च ओपन टेनिस टुर्नामेण्टको महिला एकल फाइनलमा जीतको साथ ट्रफी हासिल गरिन्। असाधारण लयमा रहने स्वियातेकले एकतर्फी फाइनलमा १८ वर्षीय कोको गफलाई पराजित गरी करियरमा दोस्रोपल्ट रोलाँ ग्यारोमा खिताब जितिन्। पोल्याण्डकी स्टार खेलाड़ी स्वियातेकले फाइनलमा गफलाई सजिलैसँग ६-१, ६-३-ले पराजित गरिन्। पूरा म्याचमा गफले एकपल्ट पनि विश्वकी नम्बर एक खेलाड़ीलाई चुनौती दिन सकिनन्। अमेरिकाकी किशोरी गफको यो पहिलो ग्राण्ड स्ल्याम फाइनल म्याच थियो। स्वियातेकलाई फाइनल म्याच जित्न केवल ६८ मिनट समय लाग्यो। पहिलो सेट गुमाएपछि दोस्रो सेटमा गफले शुरुमै स्वियातेककी सर्विस ब्रेक गरिन् अनि २-०-को बढ़त हासिल गरिन् तर पोल्याण्डकी खेलाड़ीले पनि असाधारण पुनरागमन गर्दै सेटको साथ खिताब झोलीमा हालिन्। विश्व ऱ्यांकिंगमा २३औं नम्बरमा रहने गफसँग २००६-मा रुसकी मारिया शारापोवापछि ग्राण्ड स्ल्याम जित्ने सबैभन्दा कम्ती उमेरकी महिला खेलाड़ी बन्ने मौका थियो तर उनले सफलता हासिल गर्न सकिनन्। म्याच हारेपछि गफलाई रोईरहेको देखियो।
२१ वर्षीय इगा स्वियातेकले दोस्रोपल्ट फ्रेञ्च ओपनको खिताब जितिन्। यसअघि उनले २०२०-मा महिला एकलको खिताब जितेकी थिइन्। यी दुई फ्रेञ्च ओपन ट्रफीलाई छोड़ेर उनले अन्य कुनै ग्राण्ड स्ल्याम जित्न सकेकी छैनन्। यसबाहेक फाइनलमा गफ विरुद्ध जीत उनको लगातार ३५औं जीत पनि हो। यसरी नै यो उनको लगातार छैटौं खिताब हो। उनले लगातार ३५ वटा म्याच जित्ने अमेरिकी दिग्गज भीनस विलियम्सकी रेकर्डको बराबरी गरेकी छन्। स्वियातेकले अहिलेसम्म आफ्नो एकल करियरमा फाइनल म्याच हारेकी छैनन्। उनको यस सत्रमा जीत-हारको रेकर्ड ४२-३ रहेको छ। यो उनको नवौं फाइनल म्याच थियो अनि सबैमा उनले प्रतिद्वन्द्वीलाई परास्त गरेकी छन्। यस म्याचलाई हेर्न पोल्याण्डकी दिग्गज फूटबलर रोबर्ट लेवाण्डोस्की पनि मैदानमा आएका थिए।