खरसाङ: जीटीए चिफ् अनित थापाले भोलि १ दिसम्बरको दिन खरसाङको गौरी शंकर चियाबारीमा सम्पूर्ण गिध्द पहाड़ ब्लकलाई पुग्ने १८ करोड़ बराबरको लागत खर्चमा पेय जल परियोजनाको शिलान्यास गर्ने भएको जानकारी प्राप्त भएको छ। गौरी शंकर चियाबारीको खेल मैदानमा सम्पन्न हुने एक कार्यक्रममा जीटीए चिफ् एंव भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाको विशेष उपस्थिति रहने भएको र उक्त कार्यक्रममा नै अनित थापाले १८ करोड़ बराबरको लागतमा पानीको परियोजनाको शिलान्यास गर्ने भएको छ। विशेष गरी २९ नम्बर खरसाङ गिध्द पहाड़ समष्टिको सभासद अनित थापा स्वयं नै रहेकोले जीटीए चुनावपछि राम्ररी खुशीयाली मनाउन नपाएकोले भोलि हुने कार्यक्रममा पानीको परियोजनाको शिलान्यास साथै दिउँसो १ बजेदेखि रंगा रंग कार्यक्रम पनि हुने भएको जानकारी प्राप्त भएको छ।

भोलि हुने कार्यक्रम स्थलको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानको अगुवाईमा भागोप्रमोका पदाधिकारीहरूले निरीक्षण गरेका थिए। यस विषयमा पत्रकारहरूसित कुराकानी भागोप्रमोको खरसाङ गिध्द पहाड़ समष्टिको सचिव भक्तिमान तामाङले जानकारी गराउँदै जीटीए चिफ् अनित थापाले भोलि हुने कार्यक्रममा गिध्द पहाड़ खण्डको लागि पुग्ने १८ करोड़ बराबरको लागत खर्चमा पेय जल परियोजनाको शिलान्यास गर्ने साथै दिउँसो रंगारंग कार्यक्रम पनि प्रस्तुत गरिने भएको जानकारी गराएका छन्। उनले बताए अनुसार उक्त कार्यक्रममा दार्जिलिङको कार्निभल ब्याण्ड र खरसाङको बागिना सांगीतिक टोलीद्वारा सांगीतिक प्रस्तुति दिने साथै हाँस्य कलाकार महेन्द्र बागदास पनि उपस्थित रहने भएको जानकारी गराएका छन्।










