पञ्चायत चुनाउको निम्ति आरक्षित आशन हटाइएकोमा लंगभ्यू-पंखाबारी क्षेत्रका अनुसूचित जातिद्वारा विरोध

IMG-20221213-WA0235.jpg

खरसाङ: पञ्चायत चुनाउको निम्ति सम्बन्धित निकायबाट आशन आवण्टन सार्वजनिक गरिएपछि कतिपय ठाउँहरूमा यसको प्रतिक्रिया अनि विरोधहरू आउन थालेको छ। यसै क्रममा खरसाङ खण्ड अन्तर्गत लंगभ्यू-पंखाबारी क्षेत्रमा पनि यस प्रकारको विरोध देखिएको छ। क्षेत्रमा धेरै अनुसूचित जातिहरू भए तापनि यहाँबाट एउटै आशन पनि अनुसूचित जातिलाई नदिइएकोमा स्थानीय अनुसूचित जातिका सदस्यहरू क्षुब्ध बनेका छन्। यसै विषयलाई लिएर आइतवार यहाँको लंगभ्यू सार्वजनिक भवनमा लंगभ्यू-पंखाबारी क्षेत्रका अनुसूचित जातिका सदस्यहरूलाई लिएर अखिल भारतीय अनुसूचित जाति संघ लंगभ्यू-पंखाबारी शाखाको आयोजनामा एक सभा आयोजना गरियो। लाल बहादुर घतानीको सभापतित्वमा सम्पन्न सभामा गत ९ नोभेम्बर २०२२ को दिन खरसाङको खण्ड विकास अधिकारीद्वारा यसपल्ट सम्पन्न हुने पञ्चायत चुनाउ विषय आशन आवण्टन गरिँदा अनुसूचित जातिको निम्ति सन्त मेरिय तीन ग्राम पंचायत अन्तर्गत लंगभ्यू-पंखाबारी २४ खरसाङ विधानसभा क्षेत्रको बुथ नम्बर २४/२२२ (एससी, महिला), २४/२२३ मा एससी (खुल्ला), २४/२२६ मा एससी (महिला) अनि सन्तमेरिज तीन/चार-७ एससी खुल्ला रहेको थियो। तर गत ५ दिसम्बर २०२२ को दिन सोही कार्यालयबाट जारी गरिएको आशन आवण्टन सूचिमा अनुसूचित जातिको चारैवटा आरक्षित आशनहरू हटाएर अन्य वर्गको निम्ति रहेको देखिएको विषयलाई लिएर यसको घोर विरोध जनाइयो। यसै सन्दर्भमा राखिएको सभालाई बिनोद परियारले संचालन गरेका थिए भने सभालाई प्रतिक धनुके, राम बहादुर रोका, बिगत लकान्द्री, निरज धनुके, रोशन खाती अनि बसन्त लोहारले सम्बोधन गरेका थिए। सभामा धेरै चर्चा-परिचर्चा गरेपछि यसरी अघिको आरक्षित सीट रद्ध गरेर नयाँ सीट आवण्टन गरिएकोमा विरोध जनाउँदै ९ नोभेम्बर २०२२ कै आवण्टनलाई यथावत् राख्ने तथा ५ दिसम्बरको आवण्टनलाई रद्ध गर्ने मांग गरियो। यसबारे खरसाङ खण्ड विकास अधिकारी, जीटीए मुख्य कार्यपाल अनित थापालाई ज्ञापन दिइने निर्णय लिइयो भनी प्रतिक धनुकेले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement