गान्तोक – रिफर्म कलले सिक्किमका ११ महाविद्यालयका साथै छुटेका तीनवटा कलेज र एउटा विश्वविद्यालयमा पनि विद्यार्थी प्रतिनिधि परिषद् (एसआरसी) को चुनाउ हुनुपर्छ भन्ने माग गरेको छ। रिफर्म कलका प्रवक्ता महेश राईले राजधानीमा आज आयोजित एक प्रेसवार्तामा यस्तो माग गरे। प्रवक्ता राईले मानव संसाधन विकास विभागले जारी गरेको एउटा अधिसूचनामा राज्यका ११ महाविद्यालयमा एसआरसीको चुनाउ हुने कुरा उल्लेख गरेको बताए। तर, यस सूचीमा तीनवटा महाविद्यालय र एउटा विश्वविद्यालयको नाम उल्लेख नरहेको बताउॅंदै उक्त शैक्षिक संस्थानहरूमा पनि एसआरसीको चुनाउ हुनुपर्छ भन्ने माग एवं सुझाउ राखे।
उनले सिक्किमको राज्य विश्वविद्यालय, बीएड कलेज- सोरेङ, फर्मेसी कलेज-साजोङ र नर्सिङ कलेज- सोच्यागाङको नाम विभागले जारी गरेको अधिसूचनामा नरहेको जानकारी गराए। उनले एसआरसी विद्यार्थीहरूको निम्ति एउटा मञ्च हो, जसको माध्यमद्वारा उनीहरूले आफ्नो आवाज उठाउन सक्छन् भनी उनले बताए। उनले बीएड, नर्सिङ र फर्मेसी कलेजहरू प्रोफेशनल कलेज रहेकाले त्यहॉं एसआरसीको चुनाउ नगराएको हो भन्ने अपुष्ट जानकारी आफुहरूले थाहा पाएको बताए। यदि त्यसो हो भने बुर्तुक कानून महाविद्यालय पनि एउटा प्रोफेशनल कलेज तर, त्यहॉं एसआरसीको चुनाउ आयोजन हुॅंदै आइरहेको उनले बताए। उनले प्रथम चरणमा सम्भव नभए तापनि दोस्रो चरणमा छुटेका शैक्षिक संस्थानहरूमा एसआरसीको चुनाउ आयोजन गरियोस् भन्ने माग राखे।