सिलगढी: जीटीएका प्रमुख कार्यपाल अनित थापाले गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) का संस्थापक अध्यक्ष स्व. सुवास घिसिङ सालिग र समाधि निर्माण गर्नका लागि गोरामुमोलाई पत्र पठाएका थिएl आज गोरामुमोका अध्यक्ष मन घिसिङले सो पत्रको जवाब अनित थापालाई पठाएका छन्l स्व. सुवास घिसिङको सालिग अनि समाधि निर्माण हेतु अनुमतिको निम्ति पठाएको पत्र आफूले प्राप्त गरेको मन घिसिङले बताएका छन्। सो पत्रमा मन घिसिङले यसो भनेका छन्, ‘गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन साथै तपाईको, गोरामुमो संस्थापक अध्यक्ष स्व. सुवास घिसिङको सालिग अनि समाधि निर्माण गर्ने सोँचलाई अनि विचारलाई म मेरो आन्तरिक ह्रदयबाट सम्मान जनाउँदै तपाईं प्रति आभार व्यक्त गर्दछुl मेरो आप्पा अनि आमाको समाधि निर्माणको निम्ति केही समय अगि देखि हाम्रो दल गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले वहाँको जन्मथलो मञ्जु पार्क मिरिकमा निर्माण गर्ने निर्णय गरेका छौं, मञ्जु पार्कमा वहाँको अन्तिम संस्कार गरिएको हुनाले गर्दा मेरो आप्पा अनि आमाको समाधि पनि सोही स्थानमा निर्माण गर्ने निर्णय लिएका छौंl’ मन घिसिङले आफू एउटा छोरा भएका हुनाले सो कार्य गर्ने आफ्नो एउटा कर्तव्य अनि जिम्मेवारी रहेको पत्रमा बताएका छन्। पत्रमा उनले लेखेका छन्, ‘आप्पा सुवास घिसिङको सालिग निर्माण हेतु तपाईलाई पूर्ण जानकारी गराउँदै मेरो व्यक्तिगत विचार हजुर समक्ष साझा गर्न चहान्छु, एउटा दृढ संकल्प साथ गोर्खा जातिले न्याय नपाएसम्म सालिग स्थापना नगर्ने पक्षमा रहेको छु भनि हजुरलाई जानकारी गराउँदछु। मेरो यो विचारलाई तपाईले अन्यथा नलिदिइने निवेदन गर्दछु। अन्तमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अनि तपाईको प्रस्ताव अनि विचारलाई मेरो आन्तरिक हृदयबाट आभार व्यक्त गर्दछुl’










