मालदा। पुरानो मालदा थानाको मुचिया ग्राम पञ्चायतको महादेवपुर क्षेत्रमा सोमबार बिहान पोखरीबाट एक वृद्धको शव फेला परेको थियो। पुरानो मालदा थानाको पुलिसले शव बरामद गरी पोस्टमार्टमको लागि मालदा मेडिकल कलेज र अस्पताल पठाएको छ।प्रहरी स्रोतअनुसार मृतकको नाम वैद्यनाथ मण्डल (९०) रहेको छ। घरभन्दा केही दूरीमा रहेको पोखरीबाट तिनको शव फेला परेको हो। मृतकका आफन्तले प्रहरीलाई दिएको जानकारीअनुसार अरु दिन झैँ उनी घर नजिकैको पोखरीबाट शौचालयको लागि पानी लिन राति अबेर गएका थिए। त्यही क्रममा तिनी पोखरीमा खसेको घरका मानिसहरूको विश्वास छ। रातभर खोजी गरेपछि अन्ततः बिहान पोखरीबाट वृद्धको शव फेला परेको हो। खबर पाएर पुरानो मालदा थानाको प्रहरी घटनास्थल पुग्यो।वृद्धको मृत्युको वास्तविक कारण पोष्टमार्टमपछि मात्रै भन्न सकिने प्रहरीले जनाएको छ।










