फीफा वर्ल्ड कपः मोरक्कोलाई सेमिफाइनलसम्म पुऱ्याउने पर्दा पछिको नायक वालिद रेगरागुई

IMG-20221212-WA0133.jpg

फीफा वर्ल्ड कप २०२२-मा पोर्तुगल, ब्राजील, बेल्जियम, ईंग्ल्याण्ड र जर्मनी जस्ता शक्तिशाली टीमहरू खिताब जित्ने रेसबाट बाहिर भइसकेको छ तर टुर्नामेण्टमा एउटा यस्तो टीम पनि रहेको छ जसले फूटबलप्रेमीहरूका मनमा अलग स्थान बनाएको छ। त्यो टीम हो मोरक्को। मोरक्को फीफा वर्ल्ड कपको सेमिफाइनलमा स्थान बनाउने पहिलो अफ्रिकी देश हो। विश्व ऱ्याङकिंगमा २२औं स्थानमा रहने मोरक्कोले पोर्तुगल सहित शीर्ष टीमहरूलाई पराजित गरी सबैलाई चकित पारेको छ। यो टीमको खेलाड़ीहरूका मेहनत र लगनले मात्र सम्भव भएको होइन अनि मोरक्कोको यस सफलतापछि टीमका प्रशिक्षक वालिद रेगरागुईको भूमिकालाई अस्वीकार गर्न सकिँदैन। वालिद रेगरागुई पर्दा पछि रहने त्यो नायक हुन्, जसले कतरमा मोरक्कोको निम्ति ऐतिहासिक कहानी लेखेका छन्। रेगरागुईलाई यसै साल अगस्तमा टीमका मुख्य प्रशिक्षक नियुक्त गरिएको थियो। विश्व फूटबलमा त्यति चर्चामा नआउने हुनाले मोरक्को यस वर्ल्ड कपको क्वार्टर फाइनलसम्म पुग्नेछ भनेर पनि कसैले कल्पना गरेका थिएनन् तर टीमले अहिले सेमिफाइनलमा स्थान बनाएर सबै सम्भावना र भविष्यवाणीहरूलाई झूटो साबित गरेको छ। मोरक्को टीमका प्रशिक्षक बनेपछि रेगरागुई अघि धेरै चुनौतीहरू रहेको थियो। मोरक्कोका धेरैजना खेलाड़ीहरूले विदेशी लीगहरूमा खेल्छन्। सोफियान बाउफल, रोमेन सेस, अशरफ हकीमी र यासिन बोनो जस्ता खेलाड़ीहरूले यसअघि राष्ट्रिय टीमबाट केही ठूलो टुर्नामेण्टहरूमा हिस्सा लिए पनि आशानुरुप प्रदर्शन गर्न सकेका थिएनन्। प्रशिक्षक रेगरागुईले टीमको जिम्मेवारी लिएपछि सबै खेलाड़ीहरूलाई एकजुट गरी यस्तो टीमको निर्माण गरे जसलाई पोर्तुगल जस्तो टीमले पनि पराजित गर्न सकेन।
वालिद रेगरागुईको जन्म २३ सेप्टेम्बर १९७५-मा फ्रान्समा भएको थियो तर अन्तर्राष्ट्रिय स्तरमा उनले मोरक्कोको निम्ति फूटबल खेले। मोरक्कोको निम्ति उनको इण्टरनेशनल करियर २००१-देखि २००९-सम्म रह्यो। यसबाहेक उनले धेरैवटा क्लबबाट प्रोफेशनल फूटबल पनि खेले। यति सब भएर पनि रेगरागुईले सबैभन्दा ठूलो ख्याति फीफा वर्ल्ड कप २०२२-मा हासिल गरे जब उनको कोचिंगमा टीमले सेमिफाइनलमा स्थान पक्का गऱ्यो। कतरमा मोरक्कोको टीमले असाधारण प्रदर्शन गऱ्यो। मोरक्कोले फीफा वर्ल्ड कप २०२२-मा अहिलेसम्म पाँचवटा म्याच खेलेर चारवटा जितेको छ जबकि एउटा म्याच ड्र रह्यो। यसअवधि उनीहरूले बेल्जियम, स्पेन र पोर्तुगल जस्ता टीमहरूलाई पराजित गरे। अहिले सेमिफाइनलमा पुग्ने मोरक्को वर्ल्ड कप जित्न सफल भए विश्व फूटबलमा नयाँ युगको शुरुवात हुनेछ। अफ्रिकी देशहरूमा मोरक्को अघि क्यामरुन (१९९०), सेनेगल (२००२) र घाना (२०१०)-ले वर्ल्ड कपको क्वार्टर फाइनलमा स्थान बनाएको थियो तर उनीहरूका यात्रा त्यहीँ नै समाप्त भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement