क्रोएशियाले ब्राजीलका स्टार फूटबलर नेमारको फीफा वर्ल्ड कप जित्ने सपना अगावै चकनाचूर गरिसकेको छ अनि अहिले यस यूरोपेली टीमको नजरमा लियोनल मेस्सी रहेको छ, जो पहिलोपल्ट वर्ल्ड कप जित्ने प्रयासमा रहेका छन्। गतपल्टको उपविजेता क्रोएशियालाई लगातार दोस्रोपल्ट फाइनलमा पुग्नको निम्ति मंगलवार सेमिफाइनलमा अर्जेण्टिनाको दह्रिलो वाधा पार गर्नु पर्नेछ। वर्ल्ड कपको पहिलो सेमिफाइनलमा सबैको नजर मेस्सीमाथि रहनेछ, जसले अहिलेसम्म वर्ल्ड कपको ट्रफी जित्न सकेका छैनन्। यसैकारण आफ्नो सपना साकार गर्न मेस्सीले म्याचमा आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्ने कुरामा कुनै सन्देह छैन। यसरी नै क्रोएशियाको लक्ष्य पहिलोपल्ट ट्रफी जित्ने रहेको छ। चार साल अघि क्रोएशियाले फाइनलमा फ्रान्स विरुद्ध हारको सामना गर्नु परेको थियो। क्रोएशियाका डिफेण्डर जोसिप जुरानोविचले भने, हामी कुनै खेलाड़ीसँग डराउनु पर्छ जस्तो मलाई लाग्दैन। हामीले केवल आफ्नो सर्वश्रेष्ठ खेलमा ध्यान दिनु पर्नेछ।
उनले भने, हाम्रो सफलताको राज नै हाम्रो एकजुटता हो। वास्तवमा हामी एउटा परिवार जस्तै छौं अनि त्यही अनुसार मैदानमा खेल्छौं। क्रोएशियाले क्वार्टर फाइनलमा ब्राजीललाई पेनल्टी शूटआउटमा ४-२-ले पराजित गरेपछि नेमार मैदानमै रोएका थिए। अर्जेण्टिनालाई सेमिफाइनलसम्म पुऱ्याउनमा मेस्सीको महत्त्वपूर्ण भूमिका रहेको छ। उनले अहिलेसम्म पाँचवटा म्याचमा ४ गोल गरिसकेका छन्। उनले नीदरल्याण्ड विरुद्ध क्वार्टर फाइनल म्याचमा पनि नाहुएल मोलिनाको निम्ति गोल गर्ने अभूतपूर्व मौका बनाएका थिए। यसरी मेस्सीले अर्जेण्टिनालाई जम्मा तेस्रोपल्ट अनि १९८६ पछि पहिलोपल्ट वर्ल्ड च्याम्पियन बनाउने जिम्मेवारी आफ्नो काँधमा लिएको जस्तो प्रतीत भइरहेको छ।
अर्जेण्टिना यसअघि अन्तिमपल्ट २०१८-मा ब्राजीलमा खेलिएको वर्ल्ड कपको फाइनलमा पुगेको थियो तर जर्मनी विरुद्ध नजिकको म्याचमा १-०-ले पराजित भएको थियो। त्यही एकमात्र मौकामा मेस्सी वर्ल्ड कप जित्ने नजिक पुगेका थिए। अहिले उनी वर्ल्ड च्याम्पियन बन्नदेखि केवल २ जीत टाढ़ा रहेका छन्। लुसैल स्टेडियममा खेलिने सेमिफाइनल अघि क्रोएशियाई टीमलाई शान्त देखिएको छ अनि उनीहरू आफ्नो रणनीतिको खुलासा गर्न चाहँदैनन्। क्रोएशियाई स्ट्राईकर ब्रूनो पेटकोविचले भने, हामीले मेस्सीको निम्ति अहिलेसम्म कुनै रणनीति बनाएका छैनौ। साधारण हामी कुनै एकजना खेलाड़ी नभएर सम्पूर्ण टीममाथि ध्यान केन्द्रित गर्छौं। अर्जेण्टिनाको अर्थ केवल मेस्सी होइनन्। उनीहरूसँग एकाधिक म्याच जिताउने खेलाड़ी रहेका छन्। यसैकारण हामी केवल आफ्नो खेलमा ध्यान दिन चाहन्छौं। क्रोएशियाई मध्य पंक्तिको दह्रिलो खेलाड़ी रियल म्याड्रिडका मीडफिल्डर लुका मोड्रिच हुन्। क्रोएशियाई प्रशिक्षक जाल्को डालिचले ब्राजीललाई पराजित गरेपछि आफ्नो मध्य पंक्तिलाई विश्वको सर्वश्रेष्ठ बताएका थिए, जसले म्याचको अधिकांश समय नै नेमारलाई कुनै मौका दिएन।










