नव मिलन परिवार, पुल बजार धोतरिया बालासनको तत्त्वावधानमा बालासन कप ओपन नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार दोस्रो क्वार्टर फाइनल म्याच खेलियो। इनटेक नजिक खेल मैदानमा जारी यस सेभेन ए साइड टुर्नामेण्टअन्तर्गत भएको म्याचमा बुङकुलुंग एफसी-ले ८ माईल सोनादालाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट प्राजा राई, योगेल सुब्बा र अनुराग राईले गोल गरे। यसरी नै ८ माईल सोनादाबाट रोहित तामाङ र पेमा तामाङले गोल गरे। अब १८ दिसम्बरको दिन खेलिने तेस्रो क्वार्टर फाइनलमा ग्लेनबर्न युनाइटेड र भीनस एफसी (नेपाल)-बीच भिड़न्त हुनेछ। दुईवटा सेमिफाइनल ८ र १५ जनवरीमा खेलिनेछ। टुर्नामेण्टको फाइनल आउँदो साल २२ जनवरीमा हुनेछ। आयोजक समितिका अध्यक्ष हिम्मत प्रधानले बताएअनुसार, टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










