गान्तोक: दक्षिण जिल्लाका जिल्ला पञ्चायत र वार्ड पञ्चायतका सदस्यहरूलाई लिएर शुरू गरिएको प्रशिक्षण कार्यक्रमको आज समापन भयो। गत ५ दिसम्बरदेखि जोरथाङको एसआइआरडी हलमा आयोजित प्रशिक्षण कार्यक्रमको समापनको अवसरमा लोकसभा सासंद इन्द्र हाङ सुब्बा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। यस अवसरमा एसआइआरडीका कार्यक्रम निर्देशक विशाल मुखिया,संयुक्त निर्देशक चन्द्रकला राई लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूलाई मुख्य अतिथि सुब्बाको बाहुलीबाट प्रमाण पत्र प्रदान गरियो। निर्देशक विशाल मुखियाले तालिम पूरा गर्ने यो पहिलो ब्याच भएको र आगामी मार्च महिनासम्म २८ वटा ब्याचलाई तालिम प्रदान गरिने बताए।