मोरक्कोको टीमले इतिहास रच्यो। मोरक्को फीफा वर्ल्ड कपको इतिहासमा सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टीम बन्यो। अहिलेसम्म अफ्रिकाबाट कुनै पनि देशले फीफा वर्ल्ड कपको सेमिफाइनलमा स्थान बनाएको थिएन। शनिवार राति अल थुमामा स्टेडियममा खेलिएको क्वार्टर फाइनलमा मोरक्कोले शक्तिशाली पोर्तुगललाई १-०-ले पराजित गऱ्यो। यस हारको साथै पोर्तुगल अनि स्टार फूटबलर क्रिस्टियानो रोनाल्डोको वर्ल्ड कप अभियान समाप्त भयो। म्याचपछि रोनाल्डोलाई रुँदै स्टेडियमबाट बाहिर गइरहेको देखियो। यसअघि अफ्रिकाबाट तीनवटा टीमले वर्ल्ड कपको क्वार्टर फाइनलमा स्थान बनाएको थियो तर तीनैवटा टीम पराजित भएको थियो। यसअघि क्यामरुनले १९९०, सेनेगलले २००२ र घानाले २०१०-मा क्वार्टर फाइनल खेलेको थियो। यसरी नै पोर्तुगलको टीम पहिलोपल्ट फीफा वर्ल्ड कपको क्वार्टर फाइनलमा पराजित भयो। यसअघि दुईपल्ट टीम सेमिफाइनलमा पुगेको थियो। पोर्तुगलले १९६६-मा डीपीआर कोरियालाई क्वार्टर फाइनलमा ५-३-ले अनि २००६-मा ईंग्ल्याण्डलाई पेनल्टी शूटआउटमा ३-१-ले पराजित गरेको थियो।
रोनाल्डोको यो पाँचौं वर्ल्ड कप थियो। उनले सबै वर्ल्ड कप मिलाएर आठवटा नक्आउट म्याच खेले तर कुनै पनि म्याचमा गोल चाहिँ गर्न सकेनन्। यसमा तेस्रो स्थानको म्याच पनि सामेल छ। यस ३७ वर्षीय खेलाड़ीको यो अन्तिम वर्ल्ड कप हो। यसैकारण म्याच हारेपछि उनलाई चरम निराश देखियो। यसरी वर्ल्ड कपमा कथित अन्तिम म्याचमा रोनाल्डोले एउटा खास रेकर्डको बराबरी गरे। उनले सबैभन्दा धेर अन्तर्राष्ट्रिय म्याचको रेकर्डको बराबरी गरे। यो रोनाल्डोको १९६औं अन्तर्राष्ट्रिय म्याच हो। उनले कुवैतका बदेर अल मुतावाको रेकर्डको बराबरी गरे। यसरी नै रोनाल्डो लगातार पाँचवटा वर्ल्ड कपमा गोल गर्ने एकमात्र खेलाड़ी पनि हुन्।
अल थुमामा स्टेडियममा ७४ प्रतिशत पोजेशनको साथ खेले पनि पोर्तुगलले जीत हासिल गर्न सकेन। मोरक्कोलाई म्याचको एकमात्र गोल यूसेफ एन-नेसरीले ४२औं मिनटमा हेडरद्वारा दिलाए। म्याचमा मोरक्कोका वालिद छेदिरालाई अन्तिम क्षणमा रातो कार्ड देखाइयो। रोनाल्डोले ५१औं मिनटमा सब्स्टीट्यूड खेलाड़ीको रूपमा मैदानमा प्रवेश गरे। सेमिफाइनलमा मोरक्कोले गत विजेता फ्रान्सको चुनौती स्वीकार्नेछ।










