फीफा वर्ल्ड कपः ईंग्ल्याण्डको सपना भंग गर्दै सेमिफाइनलमा पुग्यो फ्रान्स

photocollage_20221211111355752.jpg

कतरमा जारी फीफा वर्ल्ड कप २०२२-मा फ्रान्सले चौथो टीमको रूपमा सेमिफाइनलमा स्थान बनायो। शनिवार अबेर राति खेलिएको चौथो क्वार्टर फाइनल म्याचमा गत च्याम्पियन फ्रान्सले ईंग्ल्याण्डलाई २-१-ले पराजित गऱ्यो। यसरी क्रोएशिया, अर्जेण्टिना र मोरक्को पछि फ्रान्स सेमिफाइनलमा पुग्ने चौथो टीम बन्यो। फ्रान्सले फीफा वर्ल्ड कपको इतिहासमा ईंग्ल्याण्डलाई पहिलोपल्ट पराजित गऱ्यो। यसअघि १९६६ र १९८२-मा ईंग्ल्याण्डले फ्रान्सलाई पराजित गरेको थियो। अब दोस्रो सेमिफाइनलमा फ्रान्सको भिड़न्त मोरक्कोसँग हुनेछ। मोरक्कोले अन्य एउटा क्वार्टर फाइनलमा शक्तिशाली पोर्तुगललाई १-०-ले पराजित गऱ्यो।
अल बायत स्टेडियममा फ्रान्सको शुरुवात असल रह्यो। पूरा म्याचमा ईंग्ल्याण्डले ५८ प्रतिशत पोजेशनको साथ खेले पनि मौकाहरूलाई काममा लगाउने मामिलामा उनीहरू फ्रान्सभन्दा धेरै पछि रहे। म्याचमा फ्रान्सको टीमले नाटकीय बढ़त हासिल गऱ्यो। औरेलियन चौआमेनीले एण्टोनी ग्रीजम्यानको एसिस्टमा १७औं मिनटमा लामो दुरीबाट दर्शनीय गोल गरी फ्रान्सलाई बढ़त दिलाए। यसरी हाफ टाइमसम्म फ्रान्स १ गोलले अघि रहेको थियो। दोस्रो हाफको खेलमा चाहिँ ईंग्ल्याण्डले चाँड़ै बराबरी हासिल गऱ्यो। कप्तान ह्यारी केनले ५४औं मिनटमा पेनल्टीबाट गोल गरी ग्यारेथ साउथगेटको टीमलाई १-१-को बराबरीमा पुऱ्याए। यस गोलको साथै केन ईंग्ल्याण्डको तर्फबाट संयुक्त रूपले सर्वाधिक ५३ गोल गर्ने खेलाड़ी बने। पूर्व फूटबलर वेयन रुनीको नाममा पनि त्यति नै गोल रहेको छ। त्यसपछि निर्णायक बढ़तको खोजमा दुई टीमबीच रोमाञ्चक प्रतिस्पर्धा भयो। यसै क्रममा ओलिविएर गिरोडले ७८औं मिनटमा हेडरद्वारा गोल गरी फ्रान्सलाई २-१-को बढ़त दिलाए, जुन अन्तमा गएर निर्णायक साबित भयो। म्याचमा ईंग्ल्याण्डले बराबरी हासिल गर्ने सुनौलो मौका पाएको थियो तर ह्यारी केनले ८४औं मिनटमा पेनल्टीबाट गोल गर्न सकेनन्। उनको शट् पोस्टदेखि माथिबाट उड़ेर गयो।

About Author

Advertisement