गान्तोक: सिक्किम ओल्मपिक्स एसोसिएशनको पहलमा आज दोस्रो नर्थइस्ट ओलम्पिक्स प्रतियोगितामा पदक ल्याउने खेलाडीहरूलाई सम्मान जनायो। राजधानीस्थित एक होटलमा आयोजित कार्यक्रममा राज्यका शिक्षा, खेलकूद एवम युवा मामिला विभागका मन्त्री केएन लेप्चा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। आजको यस कार्यक्रममा उक्त प्रतियोगितामा पदक ल्याउने खेलाडीहरूलाई सम्मान जनाउनको साथै नगद राशि प्रदान गरियो। स्वर्ण पदक बिजेतालाई नगद १५ हजार, रजत पदक विजेतालाई १० हजार र काँस्य पदक बिजेतालाई ५ हजार गरेर प्रदान गरियो। उल्लेखनीय छ,गत महिनाको १०-१६ नोभेम्बरसम्म शिलङमा आयोजित दोस्रो नर्थ इस्ट ओलम्पिक्स खेलमा सिक्किमले कूल ५० वटा पदक ल्याएको थियो,जसमा ३ वटा स्वर्ण, १६ वटा रजत र ३१ वटा काँस्य पदक हासिल गरेको थियो। सो प्रतियोगितामा राज्यका खेलाडीहरूको मनोबल बढाउने उद्देश्यले मन्त्री सञ्जीत खरेल, मन्त्री भीम हाङ सुब्बा पनि शिलङ पुगेका थिए। उक्त प्रतियोगितामा राज्यका कूल १९७ जना खेलाडीहरूले विभिन्न प्रकारको खेलमा अंशग्रहण गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेप्चाले सर्वप्रथम उक्त प्रतियोगितामा विभिन्न पदक ल्याउन सफल बनेका खेलाडीहरूलाई बधाई साथै आगामी दिनको निम्ति शुभकामना दिए। वर्तमान सरकारले खेलकूदलाई प्राथमिकता दिँदै आइऱहेको र यसको निम्ति पूर्वधार विकासको निर्माण कार्य पनि भइरहेको बताए। सिक्किम एक सानो राज्य भएता पनि शिलङमा सम्पन्न भएको खेलमा उत्कृष्ट प्रदर्शन गरेकोमा उनले खुशी प्रकट गरे। गत दिन कोरोनाको कारण खेलाडीहरू अभ्यास गर्नबाट वञ्चित रहनु परेको थियो। तर यस्तो अवस्थामा पनि सिक्किमले यति धेरै पदक ल्याउनु ठूलो कुरा रहेको जानकारी गराए। उनले खेलाडीहरूलाई अध्ययनसँगै खेलकूदलाई पनि अघि बढाएर लैजानु पर्ने आग्रह गरे। सिक्किममा खेलकूदको निम्ति उज्जवल भविष्य रहेको उनले अवगत गराए।