गान्तोक: पूर्व सिक्किमको दलपचन्द, आरिटारमा मनाइने राज्यस्तरीय साकेवा पर्व र राजधानीको लुम्सेमा प्रस्तावित राईखीमको उद्घाटनको समयमा फेरबदल गरिएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङको व्यस्तताका कारण उक्त कार्यक्रमहरूको समयमा फेरबदल गरिएको जानकारी अखिल किरात राई संघ (एकेआरएस) ले दिएको छ। एकेआरएसका महासचिव जेपी राईले शनिवार लुम्सेमा आयोजित एक प्रेसवार्तामा राज्यस्तरीय साकेवा पर्व र लुम्सेमा नवनिर्मित राईखीमको उद्घाटनको समयमा फेरबदल गरिएको जानकारी गराए। उनले उक्त कार्यक्रमहरू आगामी १२ दिसम्बरको दिन सम्पन्न गरिने निश्चित भएको थियो भनी बताए। तर, मुख्यमन्त्रीको व्यस्ततालाई ध्यानमा राख्दै उक्त कार्यक्रमहरूको समयमा फेरबदल गरिएको उनले बताए।
महासचिव राईले बताए अनुसार, लुम्सेमा नवनिर्मित राईखीमको उद्घाटन १२ दिसम्बरमा गर्ने निश्चित भएको थियो तर, अब भोलि ११ दिसम्बर बिहान गर्ने निधो गरिएको छ। मुख्यमन्त्रीको बाहुलीद्वारा राईखीमको उद्घाटन गरिने छ। यसैगरी, राज्यस्तरीय साकेवा पर्व पनि १२ दिसम्बरको साटो अब १५ दिसम्बरमा सम्पन्न गरिने छ। उनले आमन्त्रित अतिथिहरू सबैलाई १५ दिसम्बरको दिन दलपचन्द, आरिटारमा उपस्थित भइदिन आग्रह गरे।
उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको गान्धीनगर, गुजरातमा अति नै महत्वपूर्ण कार्यक्रम रहेकाले कार्यक्रमहरूको समयमा फेरबदल गरिएको स्पष्ट पारे। उनले एकेआरएस र राज्यस्तरीय साकेवा पर्व समारोह समितिका पदाधिकारीहरूको आज मुख्यमन्त्रीसॅंग भेट भएको र यस भेट अवधि मुख्यमन्त्रीले आफ्नो व्यस्तताबारे अवगत गराएको बताए। मुख्यमन्त्रीले सम्भव भए समयमा फेरबदल गर्न विनम्र भावका साथ आग्रह गरेपछि यस्तो निर्णय लिइएको उनले अवगत गराए। प्रेसवार्तामा जिल्ला पञ्चायत अध्यक्ष अन्जिता राजालिम, राज्यस्तरीय साकेवा समारोह समितिका अध्यक्ष आरके वालिङ, समारोह समितिकी प्रमुख संरक्षक बिना राई आदि पनि उपस्थित थिए।