कालचिनी- शनिबार दिउँसो प्रायः १.३० बजी कालचिनी थाना अन्तर्गत पर्ने मेचपाड़ा ८ नम्बर गाउँको राङ्गामाटी रोड स्थित एकजना अवकाशप्राप्त पुलिस अधिकारी गोपाल सुब्बाको काठको घरमा आगो लाग्दा उक्त घर सम्पूर्ण जलेर स्वाहा भएको छ| आगो लागेको थाह पाएर गाउँलेहरू सबैले हातेमाालो गरेर आगो निभाउने भरसक प्रयास गर्दा पनि झन आगोले भयावह रुप लिन पुग्दा घटनाको जानकारी हेमिल्टनगञ्ज स्थित दमकल विभागमा पुगेको थियो भने दमकलको एउटा इञ्जिन पुगेर आगोलाई निभाउन प्रयास गर्दा अन्ततः प्रायः २ घन्टा भन्दा अधिक समयमा आगो नियन्त्रणमा ल्याउन सफल भएको थियो भने उक्त आगलागीमा गोपाल सुब्बाको घरको सरसमानहरू साथै पेन्सन र ब्यायको कागजपत्र सबै अट्याची बक्स सहित जलेको पीड़ित गोपाल सुब्बाले बताएको छ|
सम्भवतः आगो सर्ट सर्किटको कारण लागेको स्वयं घर मालिक गोपाल सुब्बाले आशंका गरेको छ भने भाग्यवश उक्त आगलागीमा कसैको हताहत नभएको पुष्टि भएको छ| सो आगलागीमा छिमेकी राजेश लामाको घर पनि सल्कने धेरै सम्भावनाबीच दमकल आइपुगेपछि जोगिन पुगेको थियो| दमकल विभाग ढिलोगरी आईपुगेको गाउँलेहरूले गुनासो गरेका छन् भने घटनाको जानकारी लिन अलिपुरद्वार जिल्ला परिषदको बन औ भूमि कर्माध्याक्ष गणेश महली लगायत कालचिनी थानाको पुलिसबल पुगेको थियो|










