पूजा आचार्य, कुसुमतला, शोणितपुर
धमिला आँखाबिच हुर्केका
अधुरा सपनाहरूको टुङ्गो लगाउन
छट्पटिन्छ मन कैयौँपटक
खोजी हिड्छ समयसगैँ हराएका,
बिथोलिएका जीवनका पानाहरू
जीवनका खिया लागेका रङ्गहरू
नौलो बताससँगै पाइला पछ्याउँदै
कहाँबाट कहाँसम्म बरालिँन्छन्,
गन्तव्यसम्म पुग्ने हतारमा।
तर,
थाहा छैन् उसलाई ऊजस्तैले
बाटोमा पर्खाल बनाई बसेको छ
सपनाहरूको हत्या गर्न।
हिजोआज गर्दै औइलाएको दिनसँगै
मनमा विकसित भएका आशाका फुलहरू
फक्रिन नपाई झर्दै छन्
हतास मन बोकी।
चारैतिर कङ्क्रिटमा सजिएका नाताहरू
मौन छन्।









