सिलगढी: आसिघर आउटपोस्ट अन्तर्गत शान्तिनगर इलाकामा एउटी गृहिणीले माइता घरमा नै आत्महत्या गरेको घटनाले सनसनी मच्चियो। मृतक गृहिणीको लोग्ने राजु नन्दीलाई पुलिसले पक्राउ गरेको छ।आज उनलाई जलपाईगढी अदालतमा पेश गर्यो। जानकारी अनुसार केही दिन अघि गृहिणी माइता आएकी थिइन् भने गत राती तिनले घाटीमा पासो लगाएर आत्महत्या गरेको बताइएको छ। यो घटनापछि मृतक गृहिणीको आमाले आसिघर आउटपोस्टमा अभियोग दर्ता गरिन्। मृतक गृहिणीकी आमा लक्ष्मी सरकारको अभियोग अनुसार तिनको छोरीलाई ससुराली पक्षले शारीरिक तथा मानसिक रूपमा अत्याचार गर्ने गरेकोले गर्दा नै छोरीले आत्महत्या गरेको हो। गत १४ वर्ष अघि तिनको छोरीको राजु नन्दीसित बिहे भएको थियो भने तिनीहरूको १० वर्षीय एउटी छोरी छन्। बिहेपछि नै राजुले रुपियाँको माग गर्दै छोरीलाई अत्याचार गर्ने गर्दथ्यो। अभियोगको आधारमा पुलिसले मृतक गृहिणीको लोग्नेलाई पक्राउ गरेर घटनाको जाँच शुरू गरेको छ।










