गान्तोक: राज्यका कृषि एवम वागवाणी विभागका मन्त्री लोकनाथ नेपालले बर्मेक बर्थाङ ग्राम पञ्चाय यूनिट अन्तर्गत रुङदुमा ग्रामीण उत्पादन बजार केन्द्रको उद्घाटन गरे। यस केन्द्रको निर्माण ग्रामीण विकास विभाग अन्तर्गत गरिएको हो। उदघाटन कार्यक्रममा खण्ड विकास अधिकारी कैलास गुरूङ, पञ्चायत सभापति गणेश नेपाल लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेपालले यस केन्द्रको उदघाटन गरिनुको प्रमुख लक्ष्य र औचित्यबारे संक्षिप्तरूपमा प्रकाश पारे। नवनिर्मित पूर्वाधारले ग्रामीण जनतालाई बजारीकरणका लागि निकै उपयोगी हुने बताए। उनले सबै क्षेत्रमा अवसर उपलब्ध गराएर ग्रामीण अर्थतन्त्रको सर्वाङ्गीण विकास र उत्थान गर्ने मुख्यमन्त्रीको दूरदृष्टि रहेको हुनाले यसको लाभ गाउँलेहरूले उठाउनु पर्ने आग्रह गरे।










